INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षातले घर भत्किदा पीडितहरुले पाएनन् राहत

छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँमा ०८२ साउन ११ गतेदेखि १४ गतेसम्म परेको अविरल वर्षाका कारण घर भत्किदा नौ घरपरिवार बिचल्लिमा परेका छन् । वर्षाले चार घर पूर्ण र पाँच घर आंशिक क्षति हुँदा उनीहरु छिमेकीहरूको घरमा आश्रय लिन बाध्य भएपनि राज्यबाट राहत पाउन नसकेको पीडित सिर्जना  बढुवालले गुनासो गर्नुभयो ।

‘अहिलेसम्म कुनै पनि निकायले राहत दिएका छैनन् । घर सबै भत्किए । अहिले छिमेकीको घरमा आश्रय लिनु पर्ने बाध्यता भएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले त्रिपालसम्म उपलब्ध गराएको छैन । खाने अन्न र भाँडाकुँडा सबै पुरिएका छन् । घर भत्किएको सात दिन भइसक्दा पनि मुचुल्का गर्न प्रहरी बाहेक कोही नआएको पीडितहरुको गुनासो गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले राहत उपलब्ध गराउन ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँका अनुसार ‘स्थानीय तह राहत कार्यविधि २०८१’ अनुसार पालिकाले तत्काल राहत उपलब्ध गराई जिल्ला विपद् व्यवस्थापन समितिमा अनुमोदन गराउनुपर्ने प्रावधान अनुसार तत्काल  छायाँनाथ रारा नगरपालिकाले राहत उपलब्ध गराउनुपर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार छायाँनाथ रारा नगरपालिका—१० चराप गाउँका शेर बहादुर ऐडी, दन्ता ऐडी, भिम बहादुर बढुवाल र सृजना ऐडीका घर पूर्ण क्षती भएका छन् । उनीहरुका घरसँग जोडिएका हरिचन्द्र ऐडी, उनरुपा बढुवाल, दल बहादुर बढुवाल, राजेन्द्र ऐडी र दल बहादुर ऐडीका घर आंशिक क्षति भएका छन् ।

अन्य

भिडियो