बेलडाँडी गाँउपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट साउन १८ गते विहान आफ्नै घर भित्र झुन्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले सम्झनाका पति पवन भट्टलाई ०८२ साउन १८ गते गिरफ्तार गरेको छ ।
घटना हुनु भन्दा पहिला पनि सम्झनालाई घरमा कुटपिट हुने गरेको र झुन्डिएको अवस्थामा घर भित्रै मृत फेलापरेकी सम्झनाको शरीरमा घाँउचोट समेत देखिएकाले पीडितका पति भट्टलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुुरका डिएसपी पवन बोहराले बताउनु भयो ।
घरभित्र झ्याल ढोकामा चुक्कुल लगाएर झुन्डिएको अवस्थामा सम्झना मृत अवस्थामा भेटिए पनि घटना शंकास्पद भएको भन्दै घटनाको अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न माइती पक्षको माग छ ।
छोरीको विवाह भएदेखि नै घरपरिवारले पटकपटक मानसिक यातना दिने गरेको र मृत अवस्थामा भेटिएकी छोरीको शरीरमा निलडाम, घाउचोट देखिएकोले घटना शंकास्पद रहेको मृतकका बुबा भोजराज भट्टले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘०८२ साउन १७ गते छोरी क्याम्पस गएकी थिइन् । यातायत खर्च नभएपछि माइत आउन सकिनन् । घटना हुनु भन्दा एक दिन अगाडि प्रहरी घरमै आएर झैझगडा नगर्न भनेर सम्झाइबुझाई गरेर गएका थिए । तर, अन्तमा छोरीको ज्यान नै गयो । छोरीलाई मार्न बाध्यबनाइएकोले घटनामा संलग्नलाई कारबाही गरिनु पर्दछ । छोरी लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरमा कक्षा १२ मा अध्ययनरत थिइन् ।’
सम्झनाको १५ वर्षको उमेरमा ०८१ फागुन १९ गते पवनसँग प्रेम विवाह भएको र गत मङ्सिर महिनामा दुबै जनाबीच बिबाद भएपछि सम्झाइबुझाई पठाएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहराले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय,बेलडाँडीका इन्स्पेक्टर दिपेन्द्रबहादुर चन्दका अनुसार घटना घटनु भन्दा एक दिन अगाडी दुवै जना इलाका प्रहरी कार्यालयमा आएका र दुवै जनालाई सम्झाई बुझाई गर्नुको साथै सँगै बस्न नसक्ने अवस्था भए घरपरिवारसँग सल्लाह गरी अदालती प्रक्रियामा जान सकिने सुझाव दिएर पठाएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालयबाट दुबै जनालाई सम्झाई बुझाई गरी पठाएको दुई दिनपछि ०८२ साउन १८ गते सम्झना घर भित्रै झुन्डिएको अवस्थामा मृत फेलापरेको र भीमदत्त नगरपालिका–६ ऐठपुर महेन्द्रनगर बस्ने माइतीपक्षले सम्झनाको शंकास्पद मुत्यु भएको भन्दै छानबिन गरेर दोषि उपर कारबाहीको माग राखेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।
शवको पोष्टमार्टम गर्न महाकाली अस्पतालमा राखिएको र पोष्टमार्टमपश्चात शवको दाहसस्कारका लागि आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी बोहराले बताउनु भयो ।