निरन्तरको वर्षाको कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । पहिरोले चन्द्रकोट गाउँपालिका–१ दिव्रुङ्गको दिव्रुङ्ग स्वास्थ्य चौकीको प्रसुती कक्ष पूर्ण रुपमा क्षति पुग्नुका साथै अरु कोठाहरुबाट पनि तत्काल सेवा प्रवाह गर्ने अवस्था नरहेको स्वास्थ्यचौकीका अहेब जीवन पुन मगरले बताउनुभयो । भवन माथिबाट आएको पहिरोका कारण प्रसुती कक्ष पूरै पुरेको छ । प्रसुती कक्षबाट सेवा प्रवाह नै गर्न सक्ने अवस्था छैन । अरु कक्षहरुमा पनि हिलो र पानी भरिएकाले सेवा दिन सक्ने अवस्था नरहेको अहेब पुनले बताउनुभयो । पहिरोसहितको लेदोले स्वास्थ्य चौकीका सामग्रीहरुमा समेत क्षति पुगेको छ । निरन्तर पानी र पहिरो खस्ने क्रम चलिरहेकाले भवनमा बसेर काम गर्ने अवस्था नभएको पुनले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा दैनिक २० जना सेवाग्राही आउने गरेका छन् । दिव्रुङ्ग स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको काम नसकिएकाले सबै सेवा पुरानै संरचनाबाट हुँदै आएको छ । चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेलले प्रहरी र गाउँपालिकासँग समन्वय भइरहेकाले क्षति र अवस्था हेरेर सेवा प्रवाह गरिने बताउनुभयो ।

वर्षाको कारण जिल्लाका मुख्य सडक कालिगण्डकी करिडोर र रिडीरुद्रवेणी सडक साउन १८ गतेबाटै अवरुद्ध छन् । करिडोरको तीन स्थान र रिडी–रुद्रवेणी–वामीको दुई स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुका अनुसार निरन्तर पानी परिरहेकाले पहिरो हटाउन जोखिम भएको छ ।
रिडी–रुद्रवेणी–वामीटक्सार सडक ०३५ सालमा बिस्तार भएको हो । डहरेको सास्ती ४५ वर्षदेखि खेपेका स्थानीयले अहिले पुल बन्ने विश्वास गरेका थिए । तर, यो वर्षातसम्म काम नसकिएकाले जोखिम उस्तै रहेको चन्द्रकोट गाउँपालिका–८ का ४८ वर्षीय दिपक खत्रीले बताउनुभयो । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदैछन् ।

एउटै ठेक्का मार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ । एक वर्षमा सुक्खा र वर्षातको कारणले गर्दा जिल्लाका मुख्य सडक ६० पटक बन्द भएको प्रहरीले जनाएको छ ।
गुल्मीको जिल्ला बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २ सय बढी ठाउँ बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला बिपद् व्यवस्थापन समिति गुल्मीको रहेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार वर्षात सुरु भएसँगै हुनेसक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उदेश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवाको मानका टिकाराम बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीद्वारा सशस्त्र प्रहरी नायव निरीक्षक टोपबहादुर कुमालको कमाण्डमा २० जनाको टोली खटिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले तत्काल सडक सञ्चालन, बाढी र पहिरोको जोखिम स्थान पहिचान र सतर्कतासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोलीलाई तैनाथी अवस्थामा राख्ने काम भइरहेको बताउनुभयो ।
