INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रशासकीय अधिकृत नहुँदा स्थानीयलाई सास्ती

जोगबुडास्थित इलाका प्रशासन कार्यालय महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि स्थानीयवासीहरू आधारभूत सेवा पाउनबाट वञ्चित भएका छन् ।

इलाका प्रशासन कार्यालय, जोगबुडामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकताको सिफारिस, राहदानी सिफारिस, जग्गासम्बन्धी कागजात प्रमाणीकरण जस्ता अत्यावश्यक सेवा अवरुद्ध हुँदा स्थानीयहरु सेवा लिन जिल्ला सदरमुकाम धाउन बाध्य भएका छन् ।

हाल कार्यालयमा कार्यरत सीमित कर्मचारीले राष्ट्रिय परिचय–पत्र वितरण र सामान्य पत्राचारबाहेक अन्य सेवा दिन नसक्ने बताउनुभएको छ ।

कार्यालय सञ्चालनका लागि ०८२ असार २२ गते एक महिनाको लागि काजमा खटाइएका नायब सुब्बा रामबाबू बराल समेत हालसम्म कार्यस्थलमा नपुगेपछि समस्या झन् चर्किएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक वर्षको सुरुआतसँगै सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय–पत्र अद्यावधिक जस्ता सेवाहरू प्रभावित भएका छन् ।

सेवा लिन आएका स्थानीयहरु इलाका प्रशासन कार्यालयको ढोकासम्म पुगेर दिनहुँ रित्तो हात घर फर्किन बाध्यभएका छन् ।

परशुराम नगरपालिका–१२ का अध्यक्ष महावीर कामी भन्नुहुन्छ, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकताको सिफारिस रोकिएको छ । आपतकालीन अवस्थामा मात्रै सदरमुकामबाट सिफारिस गर्ने गरिएको भए पनि धेरैको काम अलपत्र परेको छ ।’

आलिताल गाउँपालिका वडाध्यक्ष धनबहादुर देउवाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकता सिफारिस रोकिएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रमुख प्रशासकीय अधिकृत नभएपछि स्थानीय भोग्नुपरेका समस्याका बारेमा मन्त्रालयलाई जानकारी गराएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘मन्त्रालयसँग समन्वय गरी अनुरोध गर्दैआएको छु । मन्त्रालयले केही दिनमा एक जना अधिकृत पठाउने आश्वासन दिएको छ । दिनहुँ सम्पर्क गरिराख्या छौँ । स्थानीयहरु दुरदराजबाट हामीकहाँ आइपुग्न पनि धेरै टाँढा छ । त्यहाँ सेवा प्रवाहमा समस्या भयो भनेर मैले दिनहुँ भनिराख्या छु । मन्त्रालयले अब केही दिनमा पठाउँछौँ भन्ने आवश्वास दिएको छ ।’

अन्य

भिडियो