INSEC Online

📅 २०८३ जेष्ठ २१

जीर्ण भवन मर्मत नहुँदा विद्यार्थीहरु जोखिम मोलेर अध्ययन गर्न बाध्य

कुनै समय सुदूरपश्चिम प्रदेशका सात ओटा पहाडी जिल्लाका लागि उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा परिचित डडेल्धुरा बहुमुखी क्याम्पसको मर्मतसम्भार तथा पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरु जीर्ण भवनमा जोखिम मोलेर अध्ययन गर्न बाध्य भएका छन् ।

०५६ सालमा निर्माण भएको डडेल्धुरा बहुमुखी क्याम्पसको शैक्षिक भवन अहिले चर्किएको छ । छानो चुहिन्छ भने पर्खालहरूमा ठूला चिरा परेका छन् । झन्डै ४ / ५ सय विद्यार्थी सोही जोखिमयुक्त भवनमा पढ्न बाध्य छन् । क्याम्पस प्रशासनका अनुसार यो भवनमा १० ओटा कोठा रहेका छन् ।

द्वन्द्वकालमा तत्कालिन माओवादीले बम प्रहार गरेपछि यो भवन थिलोथिलो भएको थियो । तर, पुनःमर्मत गरिएको यो भवन झण्डै २५ वर्षपछि फेरि जिर्ण अवस्थामा पुगेको हो ।

photo20250731dadeldhura (2)2

क्याम्पसमा अध्ययनरत विद्यार्थी इन्द्र साउदले भवनको अवस्था दयनीय रहेका कारण कक्षा सञ्चालन गर्न निकै कठिन भएको बताउनु भयो । छानोबाट पानी चुहिने समस्या त छँदैछ, पढाइको लागि आवश्यक भौतिक पूर्वाधारको पनि अभाव रहेको उहाँले गुनासो गर्नु भयो ।

एउटा कक्षामा पढाउदा अर्को कक्षामा सुनिने गरेकोले पढाइ प्रभावित हुनेगरेको र भवनको अवस्था नाजुक रहेकोले तत्काल मर्मत नगरे दुर्घटना हुन सक्ने स्ववियु सदस्य शर्मीला ओडले बताउनु भयो ।

क्याम्पसका सहायक प्रमुख भक्तबहादुर कठायतले द्वन्द्वकालमा भवनमा प्रहार गरिएको बमका कारण भवनमा क्षति पुगेपछि मर्मत गरिएको भए पनि हाल पुनः भवन चर्किएको बताउनु भयो ।

photo20250731dadeldhura (1)2

भवनको बिम र वालमा गहिरा चिरा परेका कारण जुनसुकै बेला पनि भवन भत्किएर अप्रिय घटना हुन सक्ने भएकोले सम्बन्धीत पक्षले तत्काल भवन मर्मतका लागि सहयोग गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो