बङ्गलाचुली गाउँपालिका–२ स्यूजाको धिमधिमे लेकमा रहेको नेपाल टेलिकमको विटिएस टावरमा अज्ञात पक्षले भदौ ७ गते तोडफोड गरेको छ ।
बिद्युतको मिटर वक्स, मोवाइल कार्ड, ब्याट्री लगायत विटिएसमा रहेका मोवाइल फोरजी उपकरण तोडफोड गरेको नेपाल टेलिकम घोराहीका प्रमुख अमरनाथ योगीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो । तोडफोडबाट २५ लाख रुपियाँ बरावरको क्षति भएको योगीले बताउनु भयो ।
जङ्गलमा राखिएको विटिएस सुरक्षाका लागि सुरक्षा गार्ड नभएको अवस्थामा भदौ ७ गते बिहान ११ बजेदेखि सेवा अवरूद्ध भएपछि भदौ ८ गते प्राविधिक टोली उक्त स्थानमा पुग्दा उपकरणहरू तोडफोड गरिएको अवस्थामा भेटिएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रमुख योगीले बताउनु भयो ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गणेश चन्दले जानकारी दिनुभयो । तोडफोडसँगै घोराहीको पहाडी क्षेत्र तथा बङ्गलाचुली गाउँपालिका तथा आसपासको नमस्ते नेटवर्क बन्द भएपछि सेवाग्राही मर्कामा परेको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनु भयो ।