INSEC Online

📅 २०८३ जेष्ठ २१

साढे दुई वर्षदेखि औषधालय डाक्टरविहीन, सेवाग्राही मर्कामा

तत्कालीन् कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डक्टरविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

डाक्टर रमेश केसी सरुवा भएपछि केही महिनामा डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना पनि काम नगरिकन गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् । उक्त औषधालयमा आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त रहेको छ ।

हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिने सम्मको काम गर्न सकिएको भएपनि जटिल प्रकृतिका बिरामी आएमा समस्या भइरहेको वैद्य न्यौपानेले बताए । उनले भने–‘आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर डाक्टर पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’

वरिष्ठ वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । त्यसैले पनि डाक्टर पठाइदिन बेला बेलामा ताकेता गरिएको हो ।

हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् । एक जना डाक्टरको पद मात्रै रिक्त छ ।

औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गराउन आउने गरेका छन् । धेरै जसो बिरामी अमलपित्त, श्वासप्रश्वास, जण्डिस, स्त्रीरोग, पायल्स, वाथ, मुत्रविकार, छालासम्बन्धी उपचारका लागि आउने गर्दछन् ।

अमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । यहाँ जिल्लाका सात ओटै गाउँपालिका, डोल्पा, मुगु, कालिकोटसम्मका बिरामी आउने गरेका छन् ।

अन्य

भिडियो