थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले प्रहरी र वडा अध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा पीडित पक्षले असार १ गते उजुरी दिएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका इञ्चार्ज इन्स्पेक्टर चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, वडा नम्बर २ बस्ने कारी यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध शम्भुकी आमा सियालीदेवीले उजुरी दिनुभएको हो ।
आमा सियाली देवीले उनीहरुको मिलेमतोमा छोराको हत्या भएको भन्दै ज्यान मुद्दामा कारबाही गर्न पनि माग गर्नु भएको छ ।
सियालीदेवीको उजुरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायव सुब्बा विनोद सुवेदीले जानकारी दिनुभयो।
यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताको लागि जाँदा पनि प्रहरीले दर्ता गरेको थिएन । प्रहरीले दर्ता नगरेपछि पीडित परिवार सरकारी वकिल कार्यालय पुगेको हो ।
उजुरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या देखाएको जिकिर गरिएको छ ।
गत जेठ २८ गते बिहान २२ वर्षीय शम्भुको शव इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो ।
शम्भुले चलाएको ट्याक्टरले गाउँकै एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिए ।
उजुरी दर्ता भएपछि मृतक शम्भु सदाको प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गर्न लागिएको छ । उजुरी दर्ता नहुँदा पीडित परिवारले पोष्टमार्टम गर्न मानेको थिएन ।