INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

इलाका प्रहरी कार्यालय, सबैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राति झुन्डिरहेको अवस्थामा फेला परेका २२ वर्षीय शम्भु सदाको शवको पोस्टमार्टम असार २ गते प्रादेशिक अस्पताल, जनकपुरधाममा गरिएको छ ।

शवको पोस्टमार्टम गरिएको भए पनि पीडित परिवारले शव बुझेका छैनन् । असार ३ गते अस्पतालबाट शव बुझेर सबैला नगर परिक्रमा गराइ दाहसंस्कार गरिने सङ्घर्ष समितिका संयोजक चन्देश्वर सदाले बताउनुभयो ।

प्रहरी हिरासतमा शम्भुको हत्या भएको भन्दै न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै पीडित परिवार आन्दोलनरत थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा पीडित परिवार, सङ्घर्ष समितिका पदाधिकारीबीच असार २ गते भएको बैठकमा तीन बुँदे सहमति भएको छ ।

घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रको संयोजकत्वमा एक छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

समितिमा एक जना मानव अधिकारकर्मी र एकजना कानुन व्यवसायी आमन्त्रित सदस्यकारूपमा रहने छन् । यसैगरी, पीडित परिवारलाई राहतका लागि प्रशासन कार्यालय, धनुषाले यथाशीघ्र पहल गर्ने र पीडित परिवारको शान्ति सुरक्षाको उचित प्रबन्ध जिल्ला प्रशासन कार्यालय, धनुषाले गर्ने सहमतिपत्रमा उल्लेख छ ।

अन्य

भिडियो