इन्सेक दार्चुलाले महाकाली नगरपालिका–७ धापका १२ वर्षीया ममता खत्रीलाई आर्थिक सहयोग गरेको छ । बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्री बसेकी बालिका खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।
असहाय ती बालिका गत कात्तिक २१ गते अपहरणमासमेत परेकी थिइन् । उनलाई प्रहरीले उद्धार गरेको थियो ।
मालिकार्जुन मावि धापमा कक्षा ६ मा अध्ययनरत खत्रीका बुवा गजी खत्रीको ११ वर्षअघि गाडी दुर्घटनामा परी मृत्यु भएको थियो भने आमा देवकी खत्री मानसिक रूपमा अस्वस्थ छिन् । बुवाको मृत्युपछि बेसहारा बनेकी खत्रीलाई अहिले ७५ वर्षीया धरणी विष्टले धर्म पुत्रीको रूपमा पालनपोषण गर्दै आएकी छन् ।
‘आमा मानसिक रूपमा ठिक छैनन् । बुवाको मृत्यु भयो, तीन छोराछोरी सडकमै बेसहारा भएपछि दुई छोरी मैले घरमा राखेर लालनपालन गरेकी छु ।’–विष्टले भनिन् ।
‘जेठी छोरी आनन्दी खत्रीको विवाह गराइदिए । कान्छी छोरीलाई विद्यालय लगाएको छु । म पनि घरमा एक्लै भएकाले आफूसँगै राखेकी हुँ । मेरा छोरा बुहारी महेन्द्रनगर बस्छन्, म मात्रै घरमा भएपछि धर्मपुत्रीको रूपमा राखेकी हुँ ।’–उनले भनिन् ।
खत्रीका जेठा दाइ जयराज खत्रीलाई धापका पूर्व शिक्षक जयराज विष्टले घरमा पालन पोषण गरेका छन् । खत्री पनि मानसिक रूपमा अस्वस्थ छन् । ‘तीन भाइबहिनी बेसहारा भएपछि पालेका छौँ ।’–उनले भनिन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, नेपाल पत्रकार महासङ्घ दार्चुलाका उपाध्यक्ष राजेन्द्रसिंह धामीलगायतको उपस्थिति रहेको थियो ।