वीरगंज मनपा–१० आर्दशनगर निवासी ५३ वर्षीय नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र सोही पार्टीेका वीरगंज मनपा–१ छपकैया निवासी ४७ वर्षीय नेपाली कांग्रेस वीरगंज महानगर समितिका सभापति भोला साह कलवारबीच मङ्सिर ४ गते वीरगंजको आदर्शनगरमा प्रभातीय यात्रामा निस्किएको समयमा कुटाकुट भएको छ ।
कलवारले आफ्ना निकटका होटल कामदारहरू र गाउँका चिनजानका व्यक्तिलाई बोलाएर कुट्न लगाएको सांसद शर्माले आरोप लगाउनुभएको छ ।
प्रभातीय यात्रामा निस्कनु भएका शर्मा र भोला कलवारको आदर्शनगर स्थित बब्लु चिया पसलमा भेट भएको हो ।
वहाँहरू बीच सामान्य विवादपछि हात हालाहाल भएको थियो । प्रदेशसभा सदस्यको मर्यादामा रहनु भएका शर्मालाई नगर सभापति भोला कलवारले सार्वजनिक स्थानमा गालीगलौज गरेपछि झगडा भएको शर्माले बताउनुभएको छ ।
के हो विवादको चुरो ?
भोला कलवार नेपाली कांग्रेसको नगर सभापति हुनुहुन्छ । उहाँले वीरगन्ज महानगरपालिकाको नगरसभा गृह भाडामा लिएर सञ्चालन गर्नु भएको छ ।
वीरगंज मनपाले नगरसभागृह कलवारलाई २२ वर्षका लागि सार्वजनीक निजी साझेदारी ऐन अन्र्तगत सञ्चालन गर्न दिएको छ ।
कलवारले नगरसभागृहलाई पार्टी प्यालेस र होटेलको रूपमा पूर्वाधार थप गरेर सञ्चालन गर्दै आउनुभएको छ ।
कलवारले एकै दिनको भाडा ३ लाख रुपियाँभन्दा बढी लिने गरेको आरोप शर्माले लगाउँदै आउनु भएको छ ।
नगरसभागृह सञ्चालनको यो मोडेलको सांसद शर्माले विरोध गर्दै आउनु भएको छ । दुवैजना एउटै पार्टीको भएपनि पार्टीको जिल्ला अधिवेशनदेखि मनमुटाव रहँदै आएको थियो ।
ओमप्रकाश शर्मा प्रदेशसभा सदस्यमा मनोनित भएपछि उहाँले नगरसभा गृह सार्वजनिक सम्पतिमा भएको आर्थिक अनियमितताको विरोधमा बोल्दै आइरहनु भएको थियो ।
नगरसभागृहको विषयमा ओमप्रकाश शर्माले कुरा उठाउनु भन्दा अघि नै अख्तियारले छानविनका लागि महानगरपालिकालाई पत्राचार गरेको थियो ।
तर, महानगरपालिकाले भने अख्तियारको पत्रलाई ढाकछोप गरेर राखेको छ । नगरसभागृह सञ्चालनमा कांग्रेस नगरसभापति भोला कलवार र समाजवादी पार्टी निकटका विश्वामित्रप्रसाद कलवारको साझेदारी छ ।
त्यसैले महानगरपालिकामा समाजवादी पार्टीको दबाबले पत्र ढाकछोप गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र भोला कलवारबीचको कुटाकुटपछि अस्पताल भर्ना भएका शर्मा उपचारपछि घर फर्किसक्नुभएको छ ।
भोला कलवार भने प्रहरीले गिरफ्तार गर्ने डरले थप उपचारको लागि भन्दै काठमाडौँ जानुभएको शर्मा पक्षको आरोप छ ।
सार्वजनिक व्यक्तिमाथि सार्वजनिक स्थलमा हातपात र गालीगलौज गर्नेलाई मुलकी अपराध संहिता अनुसार कारवाही हुने कानुनी व्यावस्था छ ।