INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा बिरामीहरू मर्कामा

जुगल गाउँपालिका-५ बराम्चीमा रहेको स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधिको अभावमा उपचार गर्न आएका बिरामीहरू मर्कामा परेका छन् ।

ज्वरो आएर स्वास्थ्य चौकीमा उपचार गर्न गएका बराम्चीका सोमप्रसाद तिमल्सिनाले सिटामोल समेतको औषधि नपाएको गुनासो गरे । त्यसैगरी सोही ठाउँकी अप्सरा सापकोटाले पनि चिसोका कारण छाति र टाउको दुख्ने रोगले स्वास्थ्य चौकी जाँदा आफूले कुनै औषधि नपाएको आरोप लगाइन्।

जुगल गाउँपालिका अन्तर्गत स्वस्थ्य प्रमुख रहेर काम गर्दै आएका सुरेश शाहसंँग सम्पर्क गर्दा औषधिको खरिदमा ढिलाइ भएकाले सबै स्वास्थ्य चौकीहरूमा समस्या आएको हुन सक्ने बताए ।

स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन आफूले प्रयास गर्दागर्दै पनि समस्या उत्पन्न भएको वडा अध्यक्ष सनत अधिकारीले बताए । उनका अनुसार आफूले समस्या समाधान गर्न खोजिरहँदा कतिपय सन्दर्भमा आफ्नो पहुँच पुग्न नसकेको बताए ।

स्वास्थ्य जस्तो सम्वेदनशिल सवालमा गाउँपालिकाले ध्यान पुर्‍याउन नसकेको भन्दै बराम्चीस्थित ढाडेका स्थानीयले जनप्रतिनिधि प्रति दुखेसो पोखेका छन् ।

अन्य

भिडियो