इनरूवा नगरपालिका क्षेत्रभित्र रहेका सात ओटा स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको छ । नगरपालिका र प्रदेश सरकारले समयमा औषधि खरिद नगरेकाले इनरूवा नगरपालिका क्षेत्रभित्र रहेका सात ओटा स्वास्थ्य चौकी, इलाका स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको हो ।
इनरूवा नपा-७ चान्दबेलामा रहेको स्वास्थ्य चौकीमा निशुल्क वितरण गर्नुपर्ने ३५ प्रकारका औषधिमध्ये २७ प्रकारका मात्रै रहेको र त्यो पनि पर्याप्त नरहको इन्चार्ज निखिल पोखरेलले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय हुँदा कतै कम र कतै बढी गरेर माग र आवश्यकताको आधारमा आपूर्ति हुँदै आएकोमा अहिले स्थानीय र सङ्घ तथा प्रदेश सरकारको तालमेल नमिलेका कारणले समयमा इनरूवा नगरपालिका क्षेत्रभित्र रहेका सात ओटा स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।
कोटेशन र टेण्डर गरेर औषधि खरिद गर्ने हुँदा समय बढी लाग्ने र आएको औषधिसमेत नगरपालिकामा जम्मा गर्नुपर्ने त्यसपछि दाखिला र पठाउनुपर्ने भएकाले महिनौसम्म ढिलाई भएको स्वास्थ्यचौकी प्रमुखहरूको आरोप रहेको छ ।
बबिया स्वास्थ्य चौकी प्रमुख सन्तोष देवले निशुल्क वितरण गर्ने भनिएका सबै प्रकारका औषधि अभाव रहेको बताए । उनले माग फारम भरेर पठाएको महिनौँसम्म पनि माग अनुसारको औषधीिनपठाईदिँदा समस्या भएको सुनाए ।
इनरूना नगरपालिका क्षेत्रभित्र रहेको चान्दबेला स्वास्थ्य चौकीमा एक महिनामा सात पटकसम्म समान्य औषधिका लागि जाँदासमेत नभएको भन्दै फर्काइदिएको स्थानीय सेवाग्राही प्रमिला सिंहले बताइन् ।
उनले स्वास्थ्य संस्थामा निशुल्क वितरण गर्ने औषधि सकिएको भन्दै फर्काइदिएको आरोप लगाइन्। इनरूवा नगरपालिका प्रमुख राजन मेहताले औषधि नियमित रहेको र केही समस्या भए तत्काल समाधान हुने प्रतिकृया दिए । त्यसका लागि स्वास्थ्य शाखालाई भनेको समेत उनको भनाइृ रहेको छ ।