प्रदेश ७ मा माध्यामिक तहको बहिरा स्रोत कक्षा सञ्चालन गर्ने व्यवस्था नभएपछि बहिरा विद्यार्थीहरू माध्यामिक शिक्षाबाट वञ्चित भएका छन् ।
बहिरा सङ्घ कैलालीले प्रदेशमै माध्यामिक तहसम्मको अध्ययनको लागि प्रदेशमै विद्यालय स्थापना गर्न प्रदेश सरकार समक्ष साउन १० गते ज्ञापन पत्र बुझाएको छ ।
सङ्घका केन्द्रिय अध्यक्ष केपी अधिकारीले प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई भेटेर ०६८ को जनगणना अनुसार यस प्रेदशमा १० हजार ५ सय बहिरा अपाङ्ग रहेको बताउँदै प्रदेश सरकार अपाङ्गमैत्री नभएको गुनासो गरेका छन् ।
उनले प्रदेशमा १३ वटा बहिरा स्रोत कक्षा सञ्चालन भएपनि माध्यामिक तहसम्ममा भने अध्ययन गर्र्नेे व्यवस्था नभएकोले अहिले यस प्रदेशका अधिकांश बहिरा विद्यार्थीहरू माध्यामिक तहको शिक्षाबाट वञ्चित हँुदै आएको बताए ।
बहिरा सङ्घ कैलालीका अध्यक्ष दिनेश पनेरूले सरकारले अपागङ्तामैत्री नीति अवलम्बन गरेको भएता पनि अपाङ्गताभित्रका बहिरा अपाङ्गता भएका व्यक्तिका लागि नभएको गुनासो गरे । उनले सरकारलाई बहिरा व्यक्तिहरूको सामाजिक सशक्तिकरण, बहिरा स्रोत कक्षा सञ्चालन र दोभाषेको व्यवस्थाका लागि बजेटको व्यवस्था गर्न पनि आग्रह गरेका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आफू र प्रदेश सरकार १० ओटै क्षेत्रका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षणमा लागेको बताए । उनले प्रदेश ७ लाई नै अपाङ्गतामैत्री बनाउने कानुन र योजना निमार्ण गर्न लागेको बताए ।