दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिँढी र बार्दलीमा मैला अनि पुराना लुगा लथालिङ्ग । त्यो घरमा पुग्दा आँगनको छेउमा एउटा मैलो लुगाएको ११ वर्षीय बालक कुकुरसित खेलिरहेका छन् । उनका बावुआमा पिँढीमै बसिरहेका छन् । न त उनका बाबुआमा आपसमा कुरा गर्छन् न त उनले नै बावुआमालाई महत्व नै दिन्छन् । यो दृश्य पाल्पा सदरमुकाम तानसेनबाट ७ किलोमिटर उत्तर बगनासकाली गाउँपालिका-८, ढावखोला गाउँको हो ।
बावुआमा दुवै जना मानसिक बिरामी भएपछि ढावखोलाका ११ वर्षीय बालक टोपराज बस्याल ‘बेवारिसे’ जस्तै भएका छन् । उनी न त विद्यालय जान्छन् । न त उनमा बिद्यालय जानुपर्छ भन्ने मानसिकता नै बनेको छ । उनको दिनचर्या मागेर नै बित्छ । वडा नागरिक मञ्चकी संयोजक सीता बस्यालले बावुआमामा मानसिक समस्या भएपनि छोरामा समस्या नरहेको र पारिवारिक रूपमा पढाउनुपर्छ, सरसफाई गर्नुपर्छ भन्ने मान्छे कोही नभएकोले बालकले पनि बावु आमासँगै डुलेर समय बिताउने गरेको बताइन् । ‘बावुआमासित हिँड्दा हिँड्दै छोरो पनि उस्तै हुन थालेको छ’-उनले भनिन् ।
बस्यालका अनुसार ८ वर्षअघि हजुरआमाको मृत्यु भएपछि टोपराजका बावु ४३ वर्षीय लक्ष्मण बस्याल र आमा ३९ वर्षीया निर्मला बस्याल एकैपटक मनोसामाजिक अपाङ्गताका बिरामी भएका थिए । उनीहरू दुवैजना अहिले दिनभर अर्काको घरमा मागेर खान्छन् । अस्वस्थताका कारण उनीहरूको जग्गा जमीन बाँझो छ । उनीहरूले आफ्नै घरमा भात पकाएर नखाएको पनि लामै समय भएको सीता बस्यालले बताइन् ।
स्थानीय दयाराज न्यौपानेले आमा छोरा आपसमा छुटि्टएर बस्न नसक्ने भएकोले बच्चालाई अन्यत्र पठाउन नसकिएको बताए । बावुआमालाई नियमित औषधि र छोरालाई कतै पढाउने व्यवस्था मिलाउन सके धेरै राम्रो हुने उनको भनाइ छ । यस अघि समय समयमा समुदाय मिलेर उनीहरूलाई नुहाइदिने गरेपनि उनीहरूलाई आफ्नो सरसफाई गर्नुपर्छ भन्ने थाहा नै नहुँदा समस्या भएको न्यौपानेले बताए । ‘शौचालय पनि समुदायले बनाइदिएको भएपनि उनीहरू प्रयोग नै गर्दैनन् ।’ न्यौपानेले भने । जिल्ला बाल कल्याण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले समुदायका तर्फबाट पहल भए जिल्लामा यसबारे समन्वय गर्न सकिने बताए । ‘बाबुआमालाई सुधार गृहमा राख्ने र बालकलाई स्थानीय बालगृहमा राखेर पढाउने व्यवस्था मिलाउन सकिन्छ ।’-उनले भने ।



