इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले पाल्पा कारागारमा ल्याण्डलाइन फोन जडान गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले फागुन ८ गते निमित्त प्रमुख जिल्ला अधिकारी ताराप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथाशीघ्र ल्याण्डलाइन फोन जडानका लागि पहल गर्न अनुरोध गरेका हुन् ।
‘ग’ श्रेणीको पाल्पा कारागारमा हाल पुरुष २ सय २० र महिला ६९ जना कैदी बन्दी रहेका छन् । कारागारमा आश्रति बालबालिका ५ जना रहेका छन् ।
महिला पुरुष सबै कैदी बन्दीका लागि एउटा मात्रै फोन भएकाले घण्टौँ लाइनमा बस्नुपर्ने समस्या रहेकाले सो को समाधान गर्न ध्यानाकर्षण गराइएको निगरानी समूहले जनाएको छ ।

ध्यानाकर्षण पत्रमार्फत जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीले कैदी बन्दीको मानव अधिकारको रक्षा गर्नसमेत आग्रह गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी ताराप्रसाद घिमिरेले केही दिनभित्रै फोन जडान कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेको समूहका संयोजक भण्डारीले जानकारी दिए ।