रोडीकोट गाविसका करिव ७ सय घरधुरीले खडेरी कार्यक्रमको राहत चामल आठ महिना बितिसक्दासमेत नपाएको गुनासो गरेका छन् । खडेरी प्रभावित क्षेत्रको चामल नपाएपछि यहाँका नागरिक भोकमारीको सङ्कटमा परेको स्थानीयबासीले हरिलाल जैसीले बताए ।
रोडीकोट गाविस-१ देखि ७ नं वडासम्मका खडेरी पीडितले राहतको चामल नपाएको जैसीले बताए । यहाँका प्रत्येक घरधुरीले कामका लागि खाद्यान्न अर्न्तर्गत २० दिन काम गरेबापतको चामल नपाएको पनि गुनासो गरेका छन् ।
‘चामल पाउने आशमा स्थानीयबासीले विद्युतको काम गरे तर चामल पाएनन् ।’-विर्ख बुढाले गुनासो गरे । समयमा चामल पाउनु पर्ने माग गर्दै स्थानीयबासीले फागुन २ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार खडेरीबाट प्रभावितका लागि १० हजार क्वीण्टल चामल छुट्याएको मध्ये २ हजार क्वीण्टल चामल सिमकोट गाविसका लागि वितरण गरिएको बताए । घिमिरेका अनुसार श्रीनगर र र्सर्केगाडका लागि ४ हजार ५ सयका दरले ९ हजार क्वीण्टल राहत चामल छुट्याइएको भएपनि श्रीनगर गाविसका लागि ४ सय क्वीण्टल चामल आयो र बाँकी ४ हजार १ सय क्वीण्टल चामल नआउँदा स्थानीयबासी मर्कामा परेका हुन् ।
आउन बाँकी चामल सम्बन्धमा नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयलाई र जिल्ला खाद्य संस्थान शाखा कार्यालयलाई अनुरोध गरेको भएपनि फागुन ३ गतेसम्म आउन सकेको छैन ।
केन्द्रीय खाद्य संस्थान कार्यालयले बजेट सकिएको जबाफ दिएको जिल्ला खाद्य संस्थान शाखा कार्यालयले जनायो । आफू लागि परिरहेको र अर्थ मन्त्रालयले बजेट विनियोजित गर्ने कार्य ढिलाइ गरेकाले स्थानीयबासी पीडामा परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।