INSEC Online

📅 २०८३ जेष्ठ २१

दुईवटा गाउँ जहाँ महिलाको नागरिकता छैन

भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता नबनाएको राससले जनाएको छ । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन् ।

विसं २०६०/६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन् ।

विसं २०६०/६१ मा त्यहाँका महिलालाई हेटौँडा ल्याएर नागरिकता बनाउन आफूले सहयोग गरेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमफेदीकी निवर्तमान अध्यक्ष मङ्गलदेवी श्रेष्ठले बताइन् ।

नागरिकता बनाएको समय स्मरण गर्दै उनले भनिन्-“हामीले त्यसबेला नागरिकता बनाएर ल्याएको भोलिपल्ट नै एक वृद्ध महिलाको निधन भएको थियो ।” प्लान नेपाल मकवानपुरको सहयोगमा ग्रामीण महिला सेवा केन्द्रले त्यसबेला नागरिकता बनाएपश्चात् हालसम्म अन्य महिलाले नागरिकता नबनाएको श्रेष्ठको भनाइ छ ।

भीमफेदी गाविसका सचिव बद्रीप्रसाद सापकोटाले नागरिकता र सम्पत्तिको सम्बन्ध देखाउँदै यस ठाउँमा अधिकांशको आफ्नो नामको जमिन नभएकाले पनि नागरिकता बनाउन तत्परता नदेखाएको बताए । उनले भने-“सम्पत्तिसँग पनि नागरिकता जोडिँदोरहेछ यी वडामा आफ्नो नाममा जग्गा नहुनुले पनि नागरिकतामा प्रभाव पारेको छ ।” सचिव सापकोटाले यी गाउँका महिला तथा बालबालिका कानुनी अधिकारबाट समेत वञ्चित रहेको जानकारी दिए ।

सचिव सापकोटाले यी गाउँका पुरुष रोजगारीका लागि खाडी मुलुकमा जानुपर्ने कारणले सबैको नागरिकता बनाएको तर चेतनाको कमीका कारण महिलाको नागरिकताको आवश्यकता नै महसुस नगर्ने गरेको बताए ।

नागरिकता बनाउन पहल गर्दा पनि यहाँका महिलाको कागजपत्र नै पूरा नहुने बताउँदै सचिव सापकोटाले भूकम्पपछि बालबालिकाको पोषणका लागि आएको रकम वितरण गर्न बच्चाको जन्मदर्ता माग्दासमेत नागरिकताका कारण जन्मदर्ता गर्न नसकेको र बाध्य भएर बाबुको नागरिकताका आधारमा बच्चाको जन्मदर्ता गराइदिएको बताए ।

नागरिकता बनाउन कागजपत्र नै पूरा लिएर नआउने र नागरिकता बनाउनुपर्नेबारे बताउँदा पनि यी गाउँका पुरुषले नै त्यति पहल नगर्ने सचिव सापकोटाको भनाइ छ ।

भीमफेदी गाविसकी सामाजिक परिचालिका इच्छा लामाले यी गाउँमा दिउँसोको समयमा कसैलाई पनि घरमा नभेटिने र काम गर्न सक्ने उमेरका पुरुष त झन् चाडबाडमा मात्र घर आउने गरेको बताइन् । सामाजिक परिचालिका लामाले यहाँका महिलाले नागरिकता बनाउन आउँदा घरको काम बित्ने भन्दै यो झन्झट नगरौँ भन्ने गरेको बताइन् ।

भीमफेदी-३ उर्लाघारीकी कान्छीमाया चेपाङको विवाह भएको नौ वर्ष भयो । उनका पाँच सन्तान् ५न् । तर उनको नागरिकता बनेको छैन । किन नबनाएको भन्ने प्रश्नको जबफमा उनले भिनन्-“आ, मेरो नागरिकताले के हुन्छ र बारी खन्न नागरिता चाहिँदैन पो, श्रीमान्लाई पो परदेश जानुपर्छ त ।”

यो त यस ठाउँका महिलाले दिने जवाफको एउटा उदाहरण मात्र हो । यहाँ कान्छीमाया जस्तै बहुसङ्ख्यक महिलाको नागरिकता छैन । यस्तै, ३४ वर्षीया बुद्धिमाया स्याङतान दुई बच्चाकी आमा हुन् र कान्छीमायाको जस्तै उनको पनि नागरिकता छैन ।

भीमफेदी-५ सोलाभञ्ज्याङका वडा नागरिक मञ्चका अध्यक्ष भीमबहादुर गोम्जाले यहाँका महिलाले नागरिकता बनाउन चासो नदेखाएको भन्दा पनि पुरुषले नै महिलाको नागरिकता हुनुपर्छ भन्ने महसुस नगरेकाले नागरिकता बनाउन महिला नजाने बताए ।

अन्य

भिडियो