डेढ महिना अगाडि बिग्रेके जिल्ला अस्पताल बैतडीको एक्सरे मेशिन अझै सम्म पनि मर्मत नहुँदा जिल्लाका बिरामीहरू मारमा परेका छन् ।
गत भदौ १६ गतेदेखि एक्सरे मेशिन बिग्रिएपछि जिल्ला अस्पतालमा एक्सरे सेवा प्रभावित हुँदा बिरामीहरू मारमा परेका हुन् ।
एक्सरेका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरू अहिले महङ्गोमा भारतको पिथौरागढमा उपचार गराउन बाध्य भएका छन् ।
‘छोराका हात भाँचिएकाले जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविसबाट जिल्ला अस्पताल पुगेँ । तर, यहाँ एक्सरे बिग्रेकाले भारतको पिथौरागढ जाँदै छु ।’- दुर्गास्थानका हरिदेव बडुले भने ।
एक्सरे सेवा प्रभावित हुँदा दैनिक १० देखि १५ जनासम्म बिरामीहरू भारतको पिथौरागढ जाने गरेका छन् ।
‘एक्सरे मेशिन दुई चोटी बनाइसक्यौँ फेरि बिग्रिएको छ । अब नयाँ ल्याउने प्रक्रिया भइरहेको छ ।’- जिल्ला अस्पताल बैतडीका डक्टर गुणराज अवस्थीले भने ।
अहिले एक्सरेको लागि जिल्ला अस्पताल आउने विरामीहरू चर्को मुल्य तिरेर भारतको पिथौरागढ जाने गरेको स्थानीय मोहन चन्दले बताए ।
अहिले हड्डीमा चोटपटक लागेका बिरामीहरूको पनि एक्सरे गरेर मात्रै उपचार गर्नुपर्ने भएकाले धेरै बिरामीलाई रिफर गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए ।