INSEC Online

📅 २०८३ जेष्ठ २१

बुहारी खोज्न गएकी सासु ‘बेपत्ता’, बुहारी मृत फेला

कात्तिक १४ गते बुहारी हराएपछि खोज्न गएकी दोगडाकेदार गाउँपालिका–४ की ५२ वर्षीया पार्वती भट्ट ‘बेपत्ता’ छिन् भने उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत अवस्थामा फेला परेकी छिन् ।

१४ गते घाँस काट्न भन्दै घरबाट निस्केकी निर्मला साँझसम्म पनि नफर्केपछि उनलाई खोज्न गएकी पार्वती सम्पर्कविहीन भएको खोचलेक प्रहरी चौकीका असई श्यामसिंह महराले जानकारी दिए ।

दुवैजना रातिसम्म पनि घर नफर्किएपछि घर परिवारका अन्य सदस्यले खोजतलास गर्दा निर्मला कात्तिक १५ गते बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट असई महराको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

घटना रहस्यमय रहेकाले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज इन्स्पेक्टर राजेन्द्रबहादुर सिंह नेतृत्वको टोलीसमेत अनुसन्धानमा खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गिरीले जानकारी दिए । निर्मलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको गिरीले बताए ।

अन्य

भिडियो