बेपत्ता व्यक्तिको अवस्थाबारे छानविन गर्न बनेको आयोग नै ‘बेपत्ता’ भएको पीडत परिवारले आरोप लगाएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले कात्तिक १३ गते अयोजना गरेको कार्यक्रममा बोल्ने पीडत परिवारका सदस्यले उक्त आरोप लगाएका हुन् ।
रेसुङ्गा नगरपालिका–२ की धनकला थापाले ०५८ साल भदौमा बेपत्ता भएका पति शेरबहादुर थापाको अवस्था अहिलेसम्म सार्वजनिक नभएको भन्दै आयोगप्रति आक्रोश व्यक्त गरिन् ।
आयोगका सदस्य आइबहादुर गुरुङसहितको टोलीले बेपत्ता पारिएका व्यक्तिका परिवार, आफन्त र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सुक्ष्म अनुसन्धानको काम भइरहेको बताए ।
कालीगण्डकी गाउँपालिका–४ का दुर्गादत्त ढकालले अयोगमा निवेदन दिएको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आरोप लगाए । ०६० सालमा छोरालाई बेपत्ता पारिएको भएपनि अहिलेसम्म केही थाहा नभएको उनले बताए । ‘आयोग नै बेखबर छ । मेरो छोरोको खबर कहाँबाट आउनु ?’–उनले भने ।
उमेरले ८० वर्ष काट्न लागेका दुर्गाबहादुर घर्ती मगरले छोरालाई बेपत्ता पारेर परिवारलाई समेत वास्ता नगर्ने राज्यबाट न्याय पाउने कुनै आश नभएको बताए । उनले धेरै पटक आयोग र शान्ति समितिमा उजुरी र निवेदन दिएको भएपनि अहिलेसम्म आपूmले केही नपाएको बताए ।
अधिकारकर्मी गणेश श्रेष्ठले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नै ‘बेपत्ता’ भएको आरोप लगाए । आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको परिवारलाई मलम लगाउनुको सट्टा कार्यक्रम गरेर घाउ बल्झाउने काम गरेको उनको आरोप छ ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र पत्रकार महासङ्घका अध्यक्ष नवराज भुसालले गहिरो अनुसन्धान गरेर पीडितको पक्षमा काम थाल्न टोलीलाई आग्रह गरे । आयोगका सदस्य आइबहादुर गुरुङले आयोगमा पुगेको सानो सूचनाले मात्रै गहिरो अध्ययन नहुने हुँदा थप अनुसन्धान थालेको बताए ।