साढे दुई वर्षदेखि शिक्षक नियुक्त नहुँदा शैल्यशिखर नगरपालिका–४ स्थित भुवनेश्वर आधारभूत विद्यालयको पढाइ प्रभावित भएको छ ।
विद्यालयमा कार्यरत शिक्षिका राजमति पाल स्थानीय तहको निर्वाचनमा उपप्रमुख भएपछि नयाँ शिक्षक भर्ना नगर्दा बालबालिकाको पढाइ प्रभावित भएको हो ।
विद्यालयमा हाल एक जना मात्रै शिक्षक दशरथ भट्ट कार्यरत छन् । उनी प्रधानाध्यापक नै भएपनि राहत शिक्षक हुन् । कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालय रानिशिखरको विकट गाउँ शल्लेधारमा अवस्थित छ ।
‘एक जना शिक्षकले कक्षा १ देखि ५ सम्म अढाई वर्षदेखि पढाउँदै आएको छु ।’–विद्यालयका प्रअ भट्टले भने–‘स्थानीय तहको निर्वाचन भएर स्थानीय सरकार गठन भएको एक वर्ष बढी भइसक्यो ।’ तर, स्थानीय सरकारले शिक्षक भर्नामा अनुमति नदिँदा प्रक्रिया अघि बढ्न नसकेको उनले दुखेसो गरे । विद्यालयमा ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
०७४ फागुन महिनामा विद्यालय व्यवस्थापन समितिले शिक्षक भर्नाको लागि सूचना प्रकाशित गरेको थियो । तर, गाउँपालिकाले सहमति नदिँदा अहिलेसम्म भर्ना हुन सकेको छैन । जसको कारण पठनपाठन ठप्प जस्तै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीदत्त भट्टले बताए ।
शिक्षा विकास तथा समन्वय इकाईले यसअघि नै शिक्षक भर्नाको लागि स्वीकृति दिएको थियो । विद्यालयले खोलेको विज्ञापनमा चार जना महिला र सात जना पुरुष गरी ११ जनाले दरखास्त दिएका छन् । तर, शैल्यशिखर नगरपालिकाको शिक्षा इकाईले शिक्षक भर्नामा अनुमति नदिएपछि भर्ना प्रक्रिया रोकिएको प्रधानाध्यापक भट्टले बताए ।
शैल्यशिखर नगरपालिकाका १२ भन्दा बढी विद्यालयमा शिक्षक भर्ना हुँदा समेत सो विद्यालयमा शिक्षक भर्ना रोकिएको छ ।
यसैबीच शैल्यशिखर नगरपालिका शिक्षा शाखा र विद्यालयका प्रधानाध्यापक बीच कात्तिक १४ गते भएको बैठकमा एकसाता भित्र शिक्षक भर्ना खोल्ने सहमति भएको प्रधानाध्यापक भट्टले जानकारी दिए ।
शिक्षा शाखा हेर्ने जिम्मेवारी पाएका सुरेन्द्रबहादुर विष्टले प्रक्रियामा समस्या भएका कारण शिक्षक भर्ना रोकिएको बताए । उनले भने–‘अब यहि साता प्रक्रिया थाल्ने गरी सहमति भएको छ ।’ उनले व्यवस्थापन समितिको निर्णय गराएर केही दिनभित्रै शिक्षक भर्नाको परीक्षा गराइने जानकारी दिए ।