१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि अभिभावकको जिम्मामा रहेका १०, ११ र १३ वर्षीय तीन जना बालकलाई जिल्ला अदालत उदयपुरले कात्तिक ११ गते १५ दिन कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।
कसुरदार सबै बालक रहेकाले अदालतले १५ दिने कैद फैसला सुनाएको हो । पीडितलाई कसुरदारहरूले ०७५ असार १ गते विद्यालयबाट घर फर्कने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार २१ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २१ गते कटारी अस्पतालमा गरिएको थियो । उनीहरूलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेकोमा साउन ८ गते नाबालक रहेको भन्दै पुर्पक्षका लागि अभिभावकलाई जिम्मा दिने आदेश दिएको थियो ।