INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मीहरूद्वारा कृष्णनगर घटनाको स्थलगत अनुगमन

कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरमा कात्तिक २ गतेदेखि दुर्गाको मुर्ति सेलाउने विषयमा भएको विवादपछि भएको घटनाको इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध मानव अधिकारकर्मीहरूले कात्तिक ४ गते स्थलगत अनुगमन गरेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार सङ्गठन, तराई मानव अधिकार रक्षक सञ्जाल, मधेश मानव अधिकार गृह र सञ्चारकर्मीहरू सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विभिन्न व्यक्तिहरू, प्रहरी प्रशासनका प्रमुखहरू, स्थानीय समाजसेवी, पत्रकार, अधिकारकर्मी एवम् सांसदसँग छलफल गरिएको थियो ।

प्रहरी प्रशासनले पर्याप्त सावधानी नअपनाएको, प्रहरीले विवाद समाधानमा ढिलाइ गरेको अनुगमनको क्रममा पाइएको अधिकारकर्मीले बताएका छन् ।

विगतमा पनि दुर्गा विसर्जन गर्ने क्रममा उक्त स्थानमा विवाद हुने गरेकाले प्रहरी प्रशासनले संवेदनशील स्थलको रूपमा लिई सुरक्षा व्यवस्था कडा बनाउनु पर्ने स्थानीयहरूको भनाई रहेको छ ।

विजया दशमीको दिन कात्तिक २ गते कृष्णनगरमा रहेका दुर्गा मुर्तिहरू बजार परीक्रमा गरी पोखरीमा विसर्जन गर्न लैजाने क्रममा मस्जिद नजिकै पुग्दा नाम नखुलेका व्यक्तिहरूले ढुङ्गा प्रहार गरेपछि विवाद सिर्जना भएको थियो ।

मुर्ति सेलाउन लैजाँदा डिजे, माइक र सयौँ हिन्दुधर्मका अनुयायीहरू रहेको र्‍यालीमा मस्जिदबाट भिडियो खिचेको आरोपमा ढुुङ्गा प्रहार भएपछि दुवै तर्फबाट ढुङ्गामुढा हानाहान् भएको थियो ।

प्रहरीले भिडलाई नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो । झडपमा गम्भीर घाइते भएका कृष्णनगर नपा–२ का २१ वर्षीय सोनु गुप्तालाई उपचारको लागी बुटवल पठाइएको थियो ।

हिन्दुपक्षले ढुङ्गा प्रहार गर्ने व्यक्तिहरूलाई कारवाहीको माग गर्दै नाराजुलुस गरेका थिए । महिलाहरूले हातमा लाठी लिएर निर्वाधरूपले मुर्ति सेलाउन पाउनु पर्ने भन्दै कृष्णनगरमा प्रर्दशनसमेत गरेका थिए ।

कात्तिक ३ गते प्रहरी प्रशासन र सांसदसहित बसेको बैठकपछि सहमति भएपनि कात्तिक ४ गते सहमति नमान्ने भन्दै कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहका कार्यकर्ता चढ्ने गाडी, कृष्णनगर नपाका मेयर चढने गाडीमाथी ढुङ्गा प्रहार गरेका थिए ।

प्रदर्शनले ठुलो रूप लिन थालेपछि कात्तिक ४ गते भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्नुको साथै अश्रुग्याँससमेत प्रयोग गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले बताए  ।

प्रहरी प्रशासनको सहमति कायम गर्ने प्रयास असफल भएपछि कात्तिक ४ गते साँझ ५ बजे देखि कात्तिक ५ गते बिहान ५ बजेसम्मका लागि कृष्णनगर बजार आसपासमा कफ्र्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।  नेतृत्व बिनाको भिड भएकाले वार्ता को सँग गर्ने भन्नेमा अन्यौल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताए ।

photo20181022kapilvastu

अन्य

भिडियो