शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कँदा भदौ ३१ गतशिखर–१ का १० वर्षीय रोशन खडायत घाइते भएका छन् ।
चमेलिया जलविद्युत आयोजनाको विद्युत नहरको दुई नम्बर टनेलमा फालिएको विष्फोटक पदार्थ पड्किएको हो । बाख्रा चराउन गएका बेलामा खेल्दा उक्त विष्फोटक पदार्थ पड्किएको बालकले बताए ।
विष्फोटक पदार्थबाट बालकको दुवै हातका औंला गुमेको छ । बालकको शरीरमासमेत विष्फोटक पदार्थको छर्रा लागेको छ ।
उनीसँगै रहेका अर्का ८ वर्षीय बालक विरा खडायत भने सामान्य घाइते भएका छन् । उनको शरिरमा विष्फोटक पदार्थको छर्रा लागेको छ । पीडित बालकको शिखर स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि गोकुलेश्वर अस्पताल रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका डा. रविरञ्जन शाहले बताए ।
यसअघि पनि विटुले क्षेत्रमा फालिएको माटोसँगै विष्फोटकबाट एकजना घाइते भएका थिए । निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको सुरुङ खन्ने बेला पड्काइएको विष्फोटक पदार्थहरू अहिले देखिन थालेका छन् । त्यस बेला पड्कन नसकेका विष्फोटक पदार्थ माटोमा भेटिने गरेको हो ।
पीडित बालकका परिवारले चमेलिया जलविद्युत आयोजनासँग क्षतिपूर्तिको माग गरेको छ । चमेलिया जलविद्युत आयोजनाका आयोजना उपनिर्देशक पुष्पराज जोशीले भने बालकको उपचारको लागि खर्च व्यहोर्न नसकिने बताए । विद्युत निर्माण गरिरहेको चाइनिज गेजुवा गु्रपको निर्माणस्थलमा विष्फोटक पदार्थ भेटिएकोले नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्ति दिन नमिल्ने उनले बताएका छन् ।