INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीलाई मानव अधिकार आयोगको निर्देशन: निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्नु

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको भजाइनल स्वाब सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

आयोगले असोज २५ गते डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानुनी चिकित्सा विज्ञ र डीएनए विज्ञहरुसँग छलफल गरेको थियो । त्यसक्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए टेष्ट शङ्कास्पद देखिएको जनाइएको छ ।

‘भजाइनल स्वाब सङ्कलन सही छन् तर, परिक्षणमा केही विधि नपुगेको पाइएको छ ।’-आयोगका सदस्य सुदीप पाठकले भने-‘डीएनए टेष्टमा केही आशङ्का लागेकाले थप परीक्षण गर्नुपर्ने निश्कर्षमा पुगेका छौँ ।’

मानव अधिकार आयोगले निर्मलाको शवबाट सङ्कलित भजाइनल स्वाबको नमूना र त्यसबाट पृथकीकरण डीएनए लगायतका सबूतहरु जेजस्तो अवस्थामा छन्, त्यही रुपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

साथै निर्मलाको शवबाट भजाइनल स्वाबको नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

अन्य

भिडियो