कर्जन्हा नगरपालिका–६ का ३६ वर्षीय मेयर गङ्गा पासवानमाथि असोज २३ गते आक्रमण भएको छ । मेयर पासवानका अनुसार नगरपालिका कार्यालयमा विशेष नगरसभापछि घर फर्किने क्रममा नगरसभामा आएको भीडबाट प्रहार भएको ढुङ्गाले आफूसहित कार्यपालिका सदस्य र वडा सदस्यहरू चढेको ना.१ झ १६३९ नम्बरको जिपमा आक्रमण भएको हो ।
विशेष नगरसभा र आफू चढेको जिप तोडफोडको घटनाको असोज २४ गते मेयर पासवानले कर्जन्हास्थित कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् ।
‘विकास निर्माण र नगरका अन्य दैनिक प्रशासनका काम समेत नगरपालिकाको केन्द्र विवादले प्रभावित भएपछि मतदानमार्फत् टुङ्ग्याउने उद्देश्यले असोज २३ गते बगहामै विशेष नगरसभा गरियो’–पत्रकार सम्मेलनमा मेयर पासवानले भने–‘त्यसका लागि भएको मतदानमा कर्जन्हा केन्द्रका लागि २९ र बगहा केन्द्रका लागि २४ मत परेपछि समापन गरेर हिँड्ने समयमा भिडबाट ढुङ्गा प्रहार हुँदा जिपमा क्षति पुग्यो । हामीलाई त्यसबाट चोटपटक भने लागेन ।’
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भए पनि भिडबाट मेयर चढेको गाडीमा ढङ्गा प्रहार भएको बताए ।
