निजी स्रोतबाट व्यहोर्ने गरी विद्यालयले भर्ना गरेका शिक्षकले तलब नपाएपछि मुसिकोट नपा–१४ स्थित जनजागृति आधारभूत विद्यालय घोयलीडाँडाका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।
विद्यालयमा असोज २० गतेदेखि तालाबन्दी भएपछि यहाँ अध्ययनरत करिब १ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
आफूहरूले पाउनुपर्ने तलब र विद्यालयको समग्र व्यवस्थापनको पाटोमा विद्यालय व्यवस्थापन समितिले ध्यान नदिएको भन्दै विद्यालय अनिश्चितकालका लागि तालाबन्दी गरिएको शिक्षिका पवित्रा विष्टले बताइन् । उनका अनुसार विद्यालयमा कार्यरत चार जना शिक्षकले एक वर्षदेखिको तलब सुविधा पाएका छैनन् ।
‘एक वर्षदेखि तलब नपाएपछि काम गर्न सकिएन ।’–उनले भनिन्–‘सबैको ध्यानकर्षण होस भनेर तालाबन्दी गरिएको हो ।’
जिल्ला शिक्षाबाट प्राप्त बाल शिक्षा कोटामा पनि शिक्षक व्यवस्थापनमा पनि समस्या देखिएको उनको भनाई छ ।
बालविकास शिक्षाको कोटामा पहिलेदेखि काम गर्दै आएका शिक्षकलाई नै राख्नुपर्नेमा विद्यालय व्यवस्थापन समितिले नयाँ व्यक्ति ल्याउन खोज्दा थप समस्या भएको हो ।
विद्यालयमा आएका नयाँ अवसरमा पहिलेदेखि कार्यरत निजी स्रोतका शिक्षक राख्नुपर्नेमा नयाँ व्यक्ति नै खोज्न थालेपछि तलब नलिएरै पढाएका शिक्षकहरू आक्रोशित भएर विद्यालय बन्द गरिएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर विष्टले विद्यालयमा रकम नभएका कारण शिक्षकलाई तलब दिन नसकिएको बताउँदै समस्या समाधानका लागि छलफल भइरहेको प्रतिक्रिया दिए । विद्यालयमा आम्दानीको स्रोत नभएकाले यस्तो समस्या आएको र विद्यालय नै बन्द हुने स्थितिमा पुगेको उनको भनाई छ ।