सदरमुकाम खाँदबारीस्थित टुँडिखेल छेउको एक मिठाई पसलमा केही दिन अघि लड्डुमा ढुसी परेको फेला पर्यो । खाँदबारी बजारमा एउटै कम्पनीको खाद्यान्नका सामग्री पनि फरकफरक मुल्यमा विक्री भइरहेको पाइयो ।
चिचिला गाउँपालिकामा शिक्षक सेवा उतिर्ण गरेको अवसरमा धुपुकी सरिता कोईरालाले साथिहरूलाई लड्डु खुवाउन लाग्दा यस्तो भेटिएको हो ।
लड्डु कुहिको भेटिएपछि कोईरालाले पत्रकारलाई खबर गरेपछि पत्रकार महासङ्घका अध्यक्ष इन्द्र गिरी सहितको टोलीले पसलको अनुगमन समेत गर्यो । अन्ततः त्यहाँ राखिएका सबै लड्नुमा ढुसी फेला पर्यो ।
तर, बजार अनुमगन भने छैन । दसैँ, तिहार, छठ नजिकिँदै गर्दा पनि बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ता मारमा परेका हुन् ।
विगतमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजार अनुगमन हुने गरेकोमा हाल स्थानीय तहमा अनुगमनको छुट्टै संयन्त्र गठन गरिएको भएपनि बजार अनुगमन भने प्रभावकारी र निरन्तर हुन सकेको छैन ।
खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले भने–‘प्रभावकारी तथा गाउँकेन्द्रित अनुगमनमा जोड दिइने छ । कानुनको बर्खिलाप गरी उपभोक्ता ठग्ने व्यापारीलाई कारवाही हुन्छ ।’
अघिल्ला दिनमा भएका कमजोरी सच्याएर खाँदबारीमा बजार अनुगमन प्रभावकारी बनाउन आवश्यक रहेको प्रमुख खतिवडाको भनाई छ । ‘अनुगमन हामिले गर्नु पर्ने हो । तर, विविध कारणले गर्न सकिएको छैन, । प्रशासनले गर्ने कि स्थानीय तहले भन्ने स्पष्ट कानुन पनि छैन । त्यसैले अल्मलिएका छौँ ।’–खतिवडाले भने ।
सङ्खुवासभामा बजार अनुगमन नगर्दा व्यापारीको मनोमानी चल्ने गरेको उपभोक्ताको आरोप छ । ‘बजार अनुगमन कमै मात्रमा हुने गरेको छ ।’–स्थानीय रसन थकाली भान्सा घरका सञ्चालक रेवती पोख्रेलले भने–‘खुलेआम मिसावट गरिएका अखाद्य वस्तुको विक्री वितरण र ठगीको धन्दा व्यापारीहरूले गर्ने गरेका छन् ।’
उनले थपे–‘एउटै कम्पनीको एउटै सामान फरकफरक मुल्यमा बेचिरहेका छन् । तर, उनीहरूलाई न नगरपालिकाले नियन्त्रण गर्न सकेको छ न त उद्योग वाणिज्य सङ्घ र प्रशासनले नै !’
‘जिल्लाको सदमुकाम खाँदबारी बजारमा नै अनुगमन नगर्दा उपभोक्ता मारमा परेका छन् ।’–खाँदबारी स्थित असल शासन क्लवका अध्यक्ष सरोज श्रेष्ठले भने–‘सदरमुकाममा नै अनुगमन हुँदैन । ग्रामीण क्षेत्रका बजारको हालत के होला ?’
‘दसैँ तिहार आयो । एकपटक बजार अनुगमन गरिदिए व्यापारी पनि सचेत हुने थिए ।’–खाँदबारी बजारका उपभोक्ता सन्तोष चापागाईले भने ।
‘बजार अनुगमन नगर्दा व्यापारीले पनि मनपरी गरिरहेका छन् ।’–चापागाईले भने–‘बजार अनुगमन नगर्दा होटल तथा मिठाइ पसलको भान्सा पनि फोहोर छ । आगोमा पकाएर दैनिक रूपमा उपभोग गर्ने जेरी, समोसा, मिठाइलगायतका पसलमा झिँगा भन्किरहेका हुन्छन् ।’
नापतौल विभागअन्तर्गत पर्ने ढक, तराजुको प्रयोगमा ढुङ्गा र काठको समेत प्रयोग भइरहेको खाँदबारीकै उपभोक्ता विजय किसान दहालको भनाइ छ । ‘चामल, दाल, दालमोठ, भुजियालगायत तौल गरेर विक्री गरिने वस्तुमा समेत उपभोक्ता ठगिने गरेका छन् ।’–दहालले भने–‘बजारमा अनुगमन टोली आउँदैन किन व्यापारीले टेर्छन र ? ढुङ्गा र काठको ढक बनाएर तौलिरहेका हुन्छन् ।’
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बजार अनुगमनको तयारी भइरहेको जानकारी दिए । ‘हामीले एक हप्ताभित्र बजार अनुगमन गर्नेगरी योजना बनाएका छौँ ।’–उनले भने ।
औपचारिकभन्दा अनौपचारिक रूपमा बजार अनुगमन भइरहेको भन्दै सिडिओ अधिकारीले भने–‘गुनासो आएको ठाँउमा तत्कालै सम्बोधन गर्ने गरेका छौँ । कसैले उपभोक्ता ठगेको, म्याद गुज्रिएको समान बेचेको जानकारी दिएमा तत्काल गिरफ्तार गरेर कारवाही गर्ने गरेका छौँ ।’
संवैधानिक व्यवस्था र प्रचलित उपभोक्ता संरक्षण ऐन, २०५४ एवम् नियमावली, २०५६ लगायतका दर्जनौँ कानुनमा उपभोक्ताका अधिकारलाई सुरक्षित गर्न बजार अनुगमन प्रभावकारी गर्नुपर्ने व्यवस्था छ ।