महाँकाल गाउँपालिका–३, गोटिखेलमा रहेको इलाका प्रहरी कार्यालय टुङ्गुनमा स्थानीइको एक समूहले असोज १८ गते तोडफोड तथा आगजनी गरेको छ ।
उक्त समूहले प्रहरी कार्यालयको पोष्ट, खाट, प्रतिक्षालय, साइन बोर्ड, ब्यारेकको ढोका, काठको कुर्सी, क्यारेमबोर्ड, टेबललगायतका सामग्री तोडफोड गरेको इलाका प्रहरी कार्यालय टुङ्गुन, गोटिखेलका सई मनोहरी थापाले बताए ।
१३ वर्षीया बालिकालाई असोज १८ गते यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीयले इलाका प्रहरी कार्यालय टुङ्गुन, गोटिखेलमा बुझाएका भारतको बसन्तपुर, बेतिया घर बताउने १९ वर्षीय बब्लुकुमार माझीलाई प्रहरीले भगाएको आरोपमा आक्रोशित समूहले प्रहरी कार्यालय तोडफोड गरेको प्रत्यक्षदर्शी केशवप्रसाद घिमिरेले बताए ।
महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खाइजुको नेतृत्वमा थप जनशक्ति गोटिखेलमा पुगेपछि अवस्था समान्य बनेको प्रहरीले जनाएको छ ।
अव्यवस्थित थुनुवा कक्षबाट आरोपित माझी भागेपछि स्थानीयले प्रहरीमाथि आरोप लागाएको थियो । घटनाबारे अनुसन्धान गर्ने र प्रहरीको गल्ती भएमा आवश्यक कारवाही गर्ने डिएसपी खिउजुले आश्वासन दिएपछि अवस्था सामान्य बनेको थियो ।
स्थानीयवासीले गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालको रोहबरमा डिएसपी खिउजुसँग इलाका प्रहरी कार्यालय टुङ्गुनमा कार्यरत सई मनोहरी थापाबाहेक सबैलाई सरुवा गर्नुपर्ने मागसमेत राखेको महाँकाल गाउँपालिकाका–३ का अध्यक्ष सञ्चमान स्याङ्तानले बताए ।

