आसन्न बडादशैँका लागि उपभोक्ताहरूले बजारबाट किन्ने खाद्य वस्तुको उपयुक्त तौल, गुणस्तर र शुद्धताको अवस्था जाँच्न जिल्ला प्रशासन कार्यालय दैलेखले असोज १८ गते बजार अनुगमन सुरू गरेको छ ।
अनियन्त्रित मूल्यबृद्धि, खाद्य वस्तुमा मिसावट, कमजोर गुणस्तर र म्याद नाघेका खाद्य वस्तु विक्री भइरहेको भन्ने विषयमा इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूहको पहलमा डुङ्गेश्वरबजारबाट अनुगमन सुरू गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, डुङ्गेश्वर गाउँपालिका–६ का वडाअध्यक्ष बमबहादुर बिसी, पत्रकार र मानव अधिकार निगरानी समूहका सदस्य अनुगमन टोलीमा सामेल थिए ।
अनुगमनको क्रममा एक वर्ष अघि म्याद नाघेका जङ्कफुड तथा पेय पदार्थ बेच्न राखेको, कहिले, कहाँ बनेको र कहिलेसम्म उपभोग गर्न सकिन्छ ? भन्ने उल्लेख नगरिएको खाद्यपदार्थ समेत विक्रीका लागि राखिएको पाइएकाले जफत गरी जलाई नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।
अन्तशुल्क विभागबाट अनुमति लिइएका बाहेकले मदिरा बेच्न पाउनेमा अनुमति नलिई मदिरा विक्री गर्न राखेको पाइएकाले अनुमति लिएर मदिरा बेच्न सचेत गराइएको बस्नेतले बताए ।
डुङ्गेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष बमबहादुर बिसीले अब गाउँपालिकाले मदिरा नियन्त्रणको अभियानलाई तीव्रता दिने बताए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बस्कोटाले विना सूचना एक्कासी पठाइएकाले व्यापारीले म्याद नाघेका खाद्यवस्तु लुकाउन नपाएको र अनुगमन प्रभावकारी भएको बताए ।
मानव अधिकार निगरानी समूह बेलपाटाका संयोजक पार्वती खत्री, डुङ्गेश्वरका संयोजक पिपला शाही, डुङ्गेश्वर गाउँपालिका–१ का वडासदस्य कमला केसी लगायतको टोलीले असोज १४ गते प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटासमक्ष बजार अनुगमन गरिदिन लिखित अनुरोध गरेका थिए ।


