त्रिवेणी नगरपालिका-४ मा रहेको तोलीदेबल डाँडा उच्चमाविमा अध्ययनरत छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् ।
विद्यालय परिसर भित्रै देवताको मन्दिर भएकाले छात्रा विद्यार्थीहरू महिनामा ५ देखि ७ दिनसम्म विद्यालयमा अनुपस्थित हुने गरेका हुन् ।
विद्यालय परिसर भित्र मष्टा देवताको मन्दिर राखिएकाले देवता रिसाउँछन् भन्ने डरले महिनावरी भएको समयमा छात्राहरू विद्यालय अनुपस्थित हुने गरेका हुन् ।
विद्यालय हाता भित्रै देवीदेवताका मन्दिर राखिएका कारण आफूहरू महिनावारी भएको बेला विद्यालयमा नजाने गरेको नौ कक्षामा अध्ययनरत छात्रा गीताकुमारी जोशीले बताइन् ।
विद्यालय परिसर भित्रै देवताको मन्दिर राखिएकाले अभिभावक र समुदायले महिनावारी भएको समयमा विद्यालय जानबाट वञ्चित गरेका हुन् । जसका कारण पढाइमा बाधा पुगिरहेको विद्यालयमा अध्ययनरत छात्राहरूले गुनासो गरेका छन् ।
कक्षा १ देखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा १ हजार विद्यार्थीहरूमध्ये ७ सय ३८ जना छात्राहरू अध्ययनरत छन् ।
महिनावारी भएको समयमा विद्यालयमा ५० प्रतिशत छात्राहरू विद्यालयमा नआउने गरेको शिक्षक टेकराज गिरीले बताए ।
निमित्त प्रधानाध्यापक विष्णुप्रसाद ओझाले भने-‘विद्यालय परिसर भित्र देवताको मन्दिर राखिएको छ । विद्यालय अन्यन्त्र लैजान भौतिक र आर्थिक हिसावले सम्भव छैन । महिनावारी भएको समयमा पुरानो रितिरिवाज र मुल्यमान्यताका कारण छात्राहरू आफैँ विद्यालय आउन सक्दैनन् । अभिभावकले पनि आउन दिँदैनन् ।’
त्रिबेणी नगरपालिकाकी उपमेयर राधिका सुनारले पुरानो परम्परालाई समाजमा एकैचोटी परिवर्तन गर्न नसकिने भएकाले तोलीदेवल डाँडा माविसँग सरोकार राख्ने अभिभावक, शिक्षक र विद्यार्थीहरूसँग छलफल भइरहेको बताउँदै देवताको मन्दिर र विद्यालय मध्ये एउटालाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिइन् ।
विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, ‘छाउ’ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था नहुनु, विद्यालय परिसर भित्रै देवीदेवताका मन्दिर राखिनुजस्ता समस्याले छात्राहरूको पढाइमा बाधा पुग्ने गरेको छ ।