INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा सफा नगरेको आरोपमा निष्काशन गरेको आरोप

भङ्गहा नगरपालिका-९ हरिनमरी निवासी सिकिन्दर मलिक डोमका १२ वर्षीय छोरा मुकेश मलिक डोमलाई सोही ठाउँको किशोरी जनता माविका प्रधानाध्यापक मनोहरप्रसाद यादवले असोज १६ गते विद्यायलयबाट निष्काशन गरेको पीडित पक्षको आरोप छ ।

कक्षा सातमा अध्ययनरत मुकेशले आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा प्रधानाध्यापकले निष्काशन गरेको बताएका छन् ।

पीडित मुकेशले भने-‘विद्यालयमा असोज १० गते लेखापाल राकेश यादवको हजुरआमाको क्रियाभोज आयोजना गरिँदा फ्याँकिएको, छरिएको फोहोर सफा नगरेको भन्दै निष्काशनमा परेँ ।’

कक्षा सात मै अध्ययनरत ऋतिकरोशन दासका अनुसार प्रअ यादवले उनलाई हप्काएर विद्यालय नआउनु भन्दै निष्काशन गरे ।

मुकेशका आमाबाबुले पनि आफूहरूलाई दलित (डोम) समुदायको जातको भनेर प्रअ यादवले हेपेको आरोप लगाए । पीडित मुकेशका बुवा सिकिन्दरले आफूलाई पनि प्रअ यादवले बारम्बार फोहर सफा गर भन्दै हप्काएको आरोप लगाएका हुन् ।

असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजको जुठो पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका बुवाको भनाई छ ।

आर्थिक अवस्था कमजोर हुँदा शिक्षाबाट वञ्चित दलित समुदायका छात्रलाई विद्यालय आउन प्रतिबन्ध लगाएर अमानवीय काम गरेकाले दोषीलाई दण्डित गर्नु पर्ने महोत्तरी मानव अधिकार रक्षक सञ्जालका सचिव रञ्जन भण्डारीले बताएका छन् ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले पीडित छात्र र विद्यालयका शिक्षकबिच छलफल गरी दोषीलाई कारवाही गरिने बताए ।

विद्यालय आउन प्रतिबन्ध लगाएका प्रअ यादवले यसअघि तीन वर्षपहिले राकेश मलिकलाई विद्यालयबाट निकालेको आरोप छ ।

अन्य

भिडियो