म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा सञ्चालित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिले एक महिनाका लागि निष्काशन गर्ने निर्णय गरेको छ ।
संविधानको मौलिक हक अन्तर्गत धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनेर उल्लेख गरेको भएपनि चिमखोलाका बालबालिकाले आफूहरूले पढ्न नपाएको भन्दै आवाज उठाउँदा विद्यालयले एक महिनाका लागि निष्काशन गरेको आरोप लगाएका छन् ।
आपूmहरूले विषयगत शिक्षकहरूको व्यवस्थापन गरी नियमित पठनपाठनको प्रवन्ध मिलाउन माग गर्दा निष्काशित हुनुपरेको विद्यार्थीहरूको भनाई छ ।
उता विद्यालय प्रशासनले भने विद्यार्थीहरूले विद्यालयमा अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै कारवाही स्वरूप एक महिनाका लागि निलम्बन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा गत जेठदेखि विज्ञान तथा असारदेखि कम्युटर विषयका शिक्षक नहुँदा नियमित रूपमा पठनपाठन नै प्रभावित बनेको भन्दै विद्यार्थीहरूले विद्यालयको ध्यानाकर्षण गराउन भन्दै असोज १० गते विद्यालयमा तालाबन्दी गरेको बताए ।
जनप्रतिनिधिको समेत उपस्थितिमा असोज १४ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले आन्दोलित विद्यार्थीहरूलाई एक महिनाको लागि निष्काशन गर्ने निर्णय गरेको हो ।
कक्षा १० मा अध्ययनरत २५ जनामध्ये ३ जनालाई मात्रै नियमित अध्ययन गर्ने गरी अन्य २२ जनालाई निलम्बन गरेको प्रधानाध्यापक पृथबहादुर थापाले बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र सरोकारवाला सबैको उपस्थितिमा विद्यालयमा अभद्र व्यवहार प्रदर्शन गर्ने विद्यार्थीहरूलाई एक महिनाका लागि कारवाही गरेको प्रधानाध्यापक थापाको भनाइ छ ।
पाखापानी स्रोतकेन्द्रका स्रोतव्यक्ति बालकृष्ण उपाध्यायले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै जाँदा विद्यालयले समस्या समाधान गर्नुको साटो निष्काशन गर्नु गलत भएको बताए । उपाध्यायले विद्यालयले विद्यार्थी निलम्बन गरेको घटना आफूले थाहा पाएको भन्दै गत जेठमा पनि प्रक्रिया मिचेर परिचरलाई निष्काशन गरेको बताए ।