नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङको कक्षा ९ र १० का विद्यार्थीको पढाइ दुई महिनादेखि प्रभावित भएको छ ।
विद्यालयमा अध्यापन गराउने शिक्षकहरू सबै शिक्षा आयोगको परीक्षाको तयारीको लागि काठमाडौँ र सुर्खेततिर गएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको कक्षा ९ मा अध्यानरत सुनाम लामाले गुनासो गरे ।
लामाका अनुसार विद्यालयमा पठनपाठन नभएको दुई महिनाभन्दा बढी भयो तर शिक्षकहरू विद्यालयमा उपस्थित भएका छैनन् अब एकै पटक दसैँतिहार पछि नै उपस्थित हुन्छन् ।
सो विद्यालयमा मावि तहमा अध्यापन गराउने शिक्षकहरू सबै असोज ११ देखि १३ गतेसम्म सञ्चालन हुने शिक्षा सेवा आयोगको परीक्षाको तयारीका लागि सुर्खेत लागेपछि विद्यालयले कक्षा ९ र १० का विद्यार्थीहरूलाई दुई महिनाका लागि विद्यालय बन्द गरेको कक्षा आठमा अध्ययनरत छात्रा पेमा डोल्कार तामाङले बताइन् ।
शिक्षकको अभावमा पढाइ बन्द भएपछि कक्षा ९ र १० का विद्यार्थीहरू मर्कामा परेको उनले गुनासो गरिन् ।
कक्षा ९ र १० का विद्यार्थीहरूलाई साउनको पहिलो हप्ताबाट असोज दोस्रो हप्तासम्म बिदा दिइएको उनले बताइन् ।
निजी श्रोतबाट तीन जना शिक्षक राखिएकामा हाल तीनै जना काठमाडौँ र सुर्खेत शिक्षा सेवा आयोगको परीक्षाको तयारीमा गएको अविभावक टाक्पा लामाले बताए ।
निजी श्रोतका तीन जना शिक्षकमा अङ्ग्रेजी, गणित र नेपाली विषयका शिक्षकहरू तीनै जना परीक्षाको तयारीमा गएका कारण माविका विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको अभिभावकले आरोप लगाए ।
‘दुई महिनादेखि विद्यालयमा शिक्षक उपस्थित नभएपछि यो वर्षको वार्षिक परीक्षा दिनलाई गार्हो हुने भएको छ ।’–कक्षा १० मा अध्यानरत छिरिङ् लामाले गुनासो गरिन् । उनले भनिन्–‘कोर्ष पुरा पढाइ भएको छैन । कसरी परीक्षा दिने होला ?’
तीन जनाले परीक्षा दिएर आएपछि अतिरिक्त कक्षा सञ्चालन गरेर कोर्ष पूरा गर्ने शर्तमा विद्यालयले पठाएको विद्यालयका निमित्त प्रधानाध्यापक तीर्थराज शर्माले बताए । विद्यालयमा कक्षा १० मा २० जना र कक्षा ९ मा २९ जना विद्यार्थी अध्यानरत रहँदै आएका छन् ।