पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन् ।
शिक्षक मिनराज ढुङ्गाना, बासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको भएपनि पार्वती गौतमले राष्ट्रिय बाल दिवसका दिन भदौ २९ गते एक कार्यक्रममा उक्त आरोप लगाएकी हुन् ।
‘शिक्षक ढुङ्गानाले कपाल किन पालेको ? भन्दै सोधपुछ गर्दा अनिषले भोलि काटेर आउने जबाफ फर्काए पनि हप्काउँदै कुटपिट गरेछन् ।’–पार्वती गौतमले बताइन् ।
घटनाबारे पीडित बालकले घरमा पुगेर भनेपछि प्रधानध्यापक गोविन्द काफ्लेले भनेको कुरा पार्वतीले यसरी सुनाइन्–‘जे भयो भयो अब यो घटनालाइ बाहिर नलैजानुहोस् । हामी कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्छौ । पीडित बालकको सम्पूर्ण उपचार खर्च तथा मासिक फिसमेत मिनाह गरिदिन्छौ ।’
विद्यार्थीलाई कुटपिट गरेको घटना खेदजनक रहेको जिल्ला बालकल्याण समितिका सदस्य रविराज वसौलाले बताए ।
विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न जरुरी भएपनि कुटपिट गर्न नहुने र भारतिभवन माविमा भएको घटना सम्बन्धमा आफूले बुझेर विद्यालय प्रशासनलाइ सचेत गराउने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।