INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरूद्ध इन्सेकको पहलमा उजुरी दर्ता

बेसीशहर–३ बस्ने ६५ वर्षीया विष्णुमाया दुलाललाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा सोही वडाका २४ वर्षीय किरण धौलाकोटीविरूद्ध इन्सेक जिल्ला प्रतिनिधिलगायतको पहलमा असोज ५ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ ।

पीडितले असोज ४ गते इन्सेक लमजुङ जिल्ला प्रतिनिधिलाई घटनाका बारेमा जानकारी गराउँदै न्यायका लागी पहल गरिदिन आग्रह गरेकी थिइन् ।

आरोपित धौलाकोटीले असोज ३ गते विष्णुमायालाई घरमा बसिरहेको बेलामा ‘बोक्सी’को आरोप लगाउनुको साथै कुटपिट समेत गरेको पीडितकी बुहारी कोपिला दुलालले आरोप लगाइन् ।

सासूलाई कुटपिट गरेपछि छट्याउन खोज्दा आरोपितले आफूलाई समेत कुटपिट गरेको कोपिलाको भनाई छ ।

घटनापछि घाइते भएकी विष्णुमायाको उपचार असोज ४ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको थियो । आरोपित धौलाकोटी भने घटना भएको दिनदेखि फरार रहेको छिमेकी तथा घटनाका प्रत्यक्षदर्शी रुपेश दुलालले बताए ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले घटनापछि फरार आरोपितको खोजीकार्य जारी रहेको बताउँदै दोषी उपर कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अन्य

भिडियो