म्याग्दीको बेनी नपा-२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । यस्तो गम्भीर घटनालाई ढाकछोप गर्दै सर्वपक्षीय भेला राखी आरोपितलाई सरूवाको सहमति दिने निर्णय गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षक यामबहादुर जिसीले सो विद्यालयमा आधारभुत तहमा अध्ययनरत सात जना छात्रामाथि पछिल्लो पटक भदौ २१ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षको आरोपका बीच असोज ३ गते बसेको अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच भएको बैठकले शिक्षक जिसीले अशोभनीय कार्य गरेको भन्ने निश्कर्षनिकाल्दै दोषी उपर कारबाही प्रक्रियाका लागि विद्यालय व्यवस्थापन समितिलाई निर्णय लिने अधिकार दिएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले विद्यार्थीमाथि दुर्व्यवहार गर्दा पनि घटनालाई लुकाउने काम गरेकोले विद्यालयमा उनको स्थानमा अर्का प्रधानाध्यापक ल्याउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए ।
कार्कीका अनुसार विद्यालयले असोज १३ गते सम्मको समय सिमा दिएर आरोपित शिक्षक जिसीलाई अन्य विकल्प खोज्न निर्देशन दिने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी बिरबहादुर बुढामगरले घटनाको बारेमा बाहिरबाट कुरा आएको भए पनि आधिकारिक कुनै उजुरी तथा जानकारी प्रहरीमा नआएको बताए ।
उनले घटना भएको थाहा पाएपछि त्यसको अनुसन्धानमा आफूहरू जुटेको र घटनाका दोषीलाई कारवाही गर्ने प्रतिक्रिया दिए ।