INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा तीन महिना कैदको फैसला  

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले असोज २ गते तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपित बालकलाई तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गर्नुका साथै पीडितलाई आरोपितबाट ७ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

आरोपितबाट एक वर्षभित्र कैद सजाय हुने अन्य अपराध प्रमाणित भएमा मात्र उक्त कैद सजाय गाभिने गरी स्थगनको फैसला गरिएको न्यायाधीश ढुङ्गानाले बताए ।

पीडित बालिकालाई आरोपितले ०७४ फागुन ३ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितका अभिभावकले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ लगिएकी पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही अस्पतालमा ०७४ फागुन ३ गते गरिएको थियो ।

पीडितका अभिभावकले दिएको उजुरी ०७४ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको थियो । उजुरीकर्ता र प्रहरीले आरोपितको उमेर १७ वर्षको भनी उजुरी दर्ता गर्दै नाम सार्वजनिक गर्दै आएकामा इन्सेकले सुरुदेखि नै आरोपित बालक लेख्दै नाम, ठेगाना गोप्य राखेको थियो ।

आरोपित बालकले अदालतसमक्ष आफू बालक रहेको दावी गरेपछि अदालतले जाँचका लागि ०७४ फागुन २३ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा प्रतिष्ठानले आरोपितको उमेर ११ देखि १२ को बीचमा रहेको जनाएपछि न्यायाधीश ढुङ्गानाको इजलाशले ०७४ चैत १५ गते आरोपित बालकलाई संरक्षकको जिम्मा लगाएको थियो ।

अन्य

भिडियो