INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अवस्था कमजोर रहेका बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य

आठविसकोट नपा–९ का आर्थिक अवस्था कमजोर रहेका बालबालिका सोही ठाउँको राडीबजारमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने गिट्टी कुट्ने काम गर्न बाध्य भएका छन् । विद्यालय जाने उमेरका बालबालिका गिट्टी कुटने काममा संलग्न हुँदा उनीहरूको पठनपाठन समेत प्रभावित भएको छ ।

संविधानको मौलिक हक धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनी उल्लेख गरिएको छ ।

सडक छेउमा गिट्टी कुट्न सुरु गरेपछि आसपासमा गिट्टी कुट्ने ढुङ्गाको अभाव हुँदा दुई घण्टा माथिबाट ढुङ्गा बोकेर गिट्टी कुट्ने गरेको आठविसकोट नपा–९ की दीपा शाहले बताइन् । टाढा टाढाबाट ढुङ्गा बोकेर ल्याउने काममा बालबालिका पनि संलग्न भएको उनले बताइन् ।

दिनभर गिट्टी कुटने गरेपनि सस्तो मूल्यमा गिट्टी विक्री गर्नु परेको सोही ठाउँका १३ वर्षीय कलमबहादुर बिकले गुनासो गरे ।

आफूहरु बिहानैदेखि गिट्टी कुट्ने काम गरेको बेला घरमा खाना पकाउने खुवाउने समस्या हुने र छोराछोरीले समेत गिट्टी कुट्ने काम गर्दा थप पैसा पनि हुने भन्दै पढाइ भन्दा काममा समय दिन थालेको आठविसकोट नपा–९ की ४२ वर्षीया मनकली बिक बताउँछिन् ।

घर व्यवहार चलाउनकै लागि स्थानीय गिजागाउँका धेरैजसो स्थानीयहरू बिहानदेखि साँझसम्म सडकछेउमा बसेर गिट्टी कुट्ने काम गर्छन् । गिट्टी कुटेरै घरमा नुन, चामल, तेललगायतको जोहो गर्नकै लागि आफूहरूले गिट्टी कुट्ने काम गर्न बाध्य भएको बिकको भनाई छ ।

घरमा अरु काम हुँदा बाहेक नियमित जसो गिट्टी कुट्ने काममा लाग्ने गरेको र आफ्ना एक छोरा र एक छोरीले सहयोग गर्ने गरेको उनले बताइन् । ‘दिनभर लगाएर तयार पारेको गिट्टीले उचित मूल्य समेत पाइँदैन ।’–बिकले भनिन्–‘प्रति ट्याक्टर ५ हजार रुपियाँका दरले गिट्टी विक्री हुने गरेको छ ।’ एक ट्याक्टर गिट्टी कुट्न सबै परिवार लाग्दा १० देखि १५ दिन लाग्ने उनको भनाई छ ।

त्यस्तै गिजा गाउँकै ४५ वर्षीया दीपा शाह पनि गिट्टी कुट्ने काममा व्यस्त छिन् । उनीसँग पनि साँझ बिहान र बिदाको दिन छोराछोरीले समेत सघाउँछन् । कहिलेकाँही त बिहान अबेरसम्म काम गर्दा छोराछोरीको विद्यालय छुट्ने गरेको उनको भनाई छ । सडक छेउमा गिट्टी कुट्न सुरु गरेपछि आसपासमा गिट्टी कुट्ने ढुङ्गाको अभाव भएपछि दुई घण्टा माथिबाट ढुङ्गा बोकेर गिट्टी कुट्ने गरेको शाहले बताइन् । धेरै दुःख गरेर गिट्टी कुट्ने गरेपनि उचित मूल्य नपाएको उनले पनि गुनासो गरिन् ।

यहाँको सडक छेउमा बिक र शाह जस्ता थुप्रै महिलाहरू घर व्यवहार चलाउनका लागि दिनहुँ गिट्टी कुट्ने काममा व्यस्त देखिन्छन् । उनीहरू सबैसँग प्रायः बालबालिका समेत काममा संलग्न हुने गरेका छन् । पछिल्लो समय गाउँ नजिकै नगरपालिकाको केन्द्र बनेकाले पैसाका लागि उनीहरू यस कार्यमा जुटेका हुन् । नगरपालिकाको केन्द्र आसपास र राडिबजारमा पक्की घर बन्ने काम तीब्र रुपमा चलिरहेकाले गिट्टीको माग समेत बढेको हो । तरपनि सस्तो मूल्यमा गिट्टी विक्री गर्नुपर्दा दुःख गरेर गिट्टी कुट्नेले सोचेजस्तो परिश्रमको मूल्य नपाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अन्य

भिडियो