१३ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का २१ वर्षीय देवेन्द्र कोली र सोही ठाउँका १८ वर्षीय भरत कोलीलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडितद्वयलाई आरोपितद्वयले भदौ २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो । उजुरी आएलगत्तै अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत बोहराले बताए ।
भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन–२०७४ ले ‘कसैले करणीका आशयले बालबालिकासँग कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग अथवा यौन दुर्व्यवहार गरिएको मानिने छ’ भनेको छ । यस्तो गरेको प्रमाणित भएका आरोपितलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिबानाको प्रावधान रहेको छ ।