INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा सासूको हत्या, बुहारी गिरफ्तार

कपुरकोट गाउँपालिका–२ को सामुदायिक जङ्गलमा भेटिएको बृद्धाको शव हत्या गरी फालिएको खुल्न आएको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ६९ वर्षीया खोपी रावतलाई आफ्नै साइली बुहारी दङ्गीशरण गाउँपालिका–३ हेकुली निवासी ४० वर्षीया टङ्की रावतले हत्या गरेर कपुरकोटको जङ्गलमा फालेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भदौ ३ गते बुहारीले सासूलाई झारफुक गर्न जाउँ भन्दै सल्यानको कपुरकोट ल्याएको र झारफुक गरी भदौ पाँच गते फर्कने क्रममा कपुरकोट गाउँपालिका–२ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जङ्गलमा हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्रबहादुर शाहीले बताए ।

हत्या गर्ने बुहारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले भारतको कृष्णनगरबाट शनिबार बिहान गिरप्mतार गरेको डिएसपी प्रकाश सापकोटाले बताए । धामी झाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भनेपछि आफूले हत्या गरेको प्रहरीलाई बयान दिएको प्रहरीले जनायो ।

झारफुक गर्न जाने भन्दै घरबाट निस्केको नौ दिनसम्म घरमा नफर्किएपछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले भदौ १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी थिइन् ।

मृतकको शव जिल्ला प्रहरी कार्यालयमा पोष्टमार्टमका लागि राखिएको र गिरफ्तारीमा परेकी टङ्की रावतलाई दाङबाट आज नै सल्यान ल्याइने र कर्तव्य ज्यान अन्तर्गतको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्य

भिडियो