INSEC Online

📅 २०८३ जेष्ठ २१

मादी नपामा नेपाली कङ्ग्रेस कार्यकर्ताद्वारा तालाबन्दी, सेवाग्राही मर्कामा

मादी नगरपालिका कार्यालयमा नेपाली कङ्ग्रेसले भदौ १२ गते लगाएको तालाबन्दीका कारण सेवाग्राही मर्कामा परेका छन् । तालाबन्दी भएको दोस्रो पनि कार्यालय नखुलेपछि उनीहरू मर्कामा परेका हुन् ।

ओखरबोटे हुँदै मङ्गलबारे जाने सडक निर्माणका लागि गठन गरिएको उपभोक्ता समिति अवैधानिक भन्दै असन्तुष्ट पक्षले कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।

विभिन्न कामका लागि कार्यालयमा पुगेका सेवाग्राहीले काम बिना फर्कनु पर्दा असन्तुष्टी व्यक्त गरेका छन् । कार्यालयमा तालाबन्दी भएका कारण सिफारिश नपाएकोमा मादी नपा-३ ओखरबोटेका ३५ वर्षीय टिका सुवेदीले गुनासो गरे ।

काठमाडौँमा एक कार्यक्रममा सरिक हुन पुगेका नगर प्रमुख विदुर लिङथेपेले टेलिफोनमार्फत आफूहरूले गठन गरेको समिति वैधानिक र सर्वपक्षीय भएकाले कामकाज प्रभावित हुने गरी ताला लगाउनु न्याय सङ्गत नभएको बताए ।

सोही कार्यक्रममा सहभागी भएर फर्कने क्रममा रहेकी नगर उपप्रमुख उर्मिला नेपाल सुवेदीले भदौ १३ गते साँझसम्म कार्यालय पुग्ने र तत्काल वार्ता गरी समस्या समाधान गरिने बताइन् ।

उपभोक्ताहरूको हितमा नभएको समिति खारेज नभएसम्म ताला नखोलिने नेपाल कङग्रेसका कार्यकर्ता रामकुमार जिमीले बताए । ओखरबोटे हुँदै मङ्गलबारे जाने सडक निर्माणका लागि नगरपरिषद्ले ५४ लाख रुपियाँ विनियोजन गरेको छ । १८ किमि सडक निर्माण गर्न गत साउन महिनामा समिति गठन गरिएको थियो ।

अन्य

भिडियो