INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमा विद्यालय नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य (फोटो फिचर)

गाउँमा माध्यमिकस्तरको विद्यालय नहुँदा परशुराम नपा-७ का झण्डै १ सय ५० जना विद्यार्थीहरू वर्षातका बेला जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् ।

आधारभूतसम्मको विद्यालय गाउँमै रहेता पनि माध्यमिक तहको शिक्षा अध्ययनका लागि घर भन्दा चार किलोमिटर दुरीमा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालय, चन्दनी पुग्न खोला तर्नु पर्ने बाध्यताले उनीहरूले यात्रा जोखिमपूर्ण हुने गरेको हो ।

यहाँका अधिकांश विद्यार्थीहरू यस्तै जोखिमपूर्ण यात्रा गरेर हरेक दिन विद्यालय आउने र जाने गरिरहेका छन् । विद्यार्थीहरूले आफ्नो ज्यानको बाजी लगाएर विद्यालयमा पढ्न जानुपर्ने बाध्यता वर्षौँदेखि रहिआएको छ ।

ज्ञान आर्जनका लागि ज्यानको बाजी लगाएर विद्यालयसम्म पुग्ने गरेको भए पनि समस्या समाधानका लागि राज्य पक्षबाट पहल नभएको कक्षा नौ मा अध्ययनरत छात्रा तुलसी धामीले गुनासो पोखिन् ।

परशुराम नपा-७ का भुपेन्द्र धामीका अनुसार खोलामा पुल नभएका कारण विद्यार्थीहरू दैनिक रूपमा खोला तरेर नै विद्यालय आउने-जाने गरेकाले कुनै पनि बेला दुर्घटनाको जोखिम उच्च रहेको छ ।

‘विद्यार्थीहरू जब झोला बोकेर विद्यालय जान घरबाट निस्कन्छन् र साँझ घर नपुग्दासम्म चिन्ता लागि रहन्छ । सरोकारवाला निकायहरूलाई खोलामा पुल निर्माणका लागि पटकपटक आग्रह गरेता पनि अहिलेसम्म कुनै पनि निकायले सुनवाइ गरेका छैनन् ।’-उनले भने ।

वर्षातको समयमा अधिकांश दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गैरिदत्त भट्टराईले बताए । उनले भने-‘साउनदेखि कार्तिकसम्म विद्यार्थीहरूलाई विद्यालय आउन-जान समस्या हुन्छ ।’

विद्यालय नजिकै रहेको सादनी खोलामा पुल नहुँदा सादनी, कराली र भोरकुण्डाका १ सय ५० जना विद्यार्थीहरू जोखिम मोलेर विद्यालय आउने तथा कतिपय परिस्थितिमा शिक्षा आर्जनबाट वञ्चित हुने गरेको प्रधानाध्यापक भट्टटराईले बताए ।

परशुराम नपा-७ का वडा अध्यक्ष केशब बोहराका अनुसार यस आर्थिक वर्षको योजनामा सादनी खोलामा पुल निर्माणको योजना पारित भइसकेकोले विद्यार्थीहरूलाई आगामी वर्षदेखि सजिलो हुनेछ ।

a

a

a

a

a

a

a

a

अन्य

भिडियो