INSEC Online

📅 २०८३ जेष्ठ २१

कुडीकोट आधारभूत विद्यालय बन्द हुँदा पठनपाठनमा समस्या

बुढीगङ्गा नपा-१ माथिल्लो कुडीमा रहेको कुडीकोट आधारभूत विद्यालय ६ दिनदेखि बन्द भएपछि विद्यार्थीहरूको पठनपाठनमा समस्यामा भएको छ ।

भदौ १ गते रातिदेखी आएको अविरल वर्षाका कारण गाउँ नै विस्थापित भई विद्यालयमा बस्न थालेपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

अविरल वर्षाका कारण गाउँमा पहिरो आएपछि गाउँका १ सय ४८ घर परिवार र गाईबस्तुहरू सबै विद्यालयमा बस्ने गरेकाले विद्यालय बन्द गर्नु परेको शिक्षक राजेन्द्र पुरीले बताए ।

१ सय २२ जना विद्यार्थी रहेको कुडीकोट आधारभूत विद्यालय बन्द भएपछि पठनपाठनमा समस्या भएको हो । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सरोकारवालहरूले कुनै राहत तथा पालको व्यवस्था नगरेकाले गाउँलेहरूले विद्यालयमा बस्नु परेको शिक्षक सुरेन्द्र साउदले बताए ।

पुरै गाउँ नै विस्थापित भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले तीन वटा मात्रै पाल दिएको पीडितहरूले दुखेसो पोखेका छन् ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नेपाल रेडक्रस सोसाइटी र जिल्लामा काम गर्ने सङ्घ सस्थाहरूलाई राहतको लागि पहल गर्न निर्देशन दिएको बताए ।

बुढीगङ्गा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले बाढीका कारण विस्थापित भएकाहरूका लागि आवश्यक पर्ने खाद्य सामग्री, लत्ताकपडा र पाल अन्य जिल्लाबाट माग गरिएकाले केही ढिलाई भएको बताए ।

चिसोले बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकमा रोगको सङ्क्रमण देखिन थालेको भए पनि स्वास्थ्यकर्मीहरूलाई उपचारका लागि नपाइएको विस्थापित महिला बेलु साउदले दुखेसो पोखिन् ।

अन्य

भिडियो