INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक कर्णाली प्रदेश कार्यालय स्थापना

कर्णाली प्रदेशको राजधानी वीेरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय साउन २९ गते स्थापना गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले संयुक्त रूपमा कार्यालयको साइन बोर्ड अनावरण गर्दै प्रदेश कार्यालयको स्थापना गरेका हुन् ।

photo20180814surkhet (1)

कार्यक्रममा मन्त्री रावलले नेपालमा भएका सामाजिक तथा राजनीतिक परिवर्तन र १० वर्षे सशस्त्र द्वन्द्वमा इन्सेकको भूमिका प्रभावकारी रहेको भन्दै प्रशंसा गरे । मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा आगामी दिनमा इन्सेकसँगको सहकार्यमा कर्णाली प्रदेशका सवाललाई सम्बोधन गर्ने मन्त्री रावलले प्रतिबद्धता जनाए ।

विभिन्न चुनौतीका बाबजुद कर्णालीलाई सुन्दर प्रदेश बनाउने सम्भावना रहेको मन्त्री रावलले बताए । वर्तमान सन्दर्भमा इन्सेकको अझ बढी भूमिका रहेको मन्त्री रावलले बताए ।

इन्सेकका अध्यक्ष प्याकुरेलले गैरसरकारी निकायले नेपालमा राम्रा काम गरेको बताउँदै राम्रा कामले सरकारका कामलाई सहयोग पु¥याउने बताए । नागरिक समाज मानव चरित्र बोकेको संस्था भएको बताउँदै उनले राज्यका निकायसँग समन्वय गर्नु पर्ने बताए । नागरिक समाजले जनता र सरकारबीच पुलको भूमिका निर्वाह गर्नु पर्ने अध्यक्ष प्याकुरेलले सुझाव दिए ।

आगामी दिनमा सुशासनका विषयमा केन्द्रीत भई गैरसरकारी संस्थाले आफ्ना कामलाई अगाडि बढाउन अध्यक्ष प्याकुरेलले सुझाव दिए । उक्त कार्यका लागि प्रदेश स्तरमा कार्यरत संस्थाबीच प्रत्येक महिना बैठक बसी यी सवालमा कार्य गर्न सुझाव दिए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदम लामिछानेले इन्सेकले मानव अधिकारको संरक्षणमा लामो समयदेखि समाजमा सचेतना फैलाएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल र महलिा अधिकारकर्मी पवित्रा शाहीले मानव अधिकारका क्षेत्रमा इन्सेकले गरेको कामको चर्चा गरेका थिए ।

इन्सेक प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकारकर्मी, कानुन व्यावसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेक प्रदेश नम्बर ५ का संयोजक भोला महतले गरेका थिए ।

अन्य

भिडियो