नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताको रिहाइको माग गर्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा गैँडाकोट नपा-२ भृकुटी चोकमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने भृकुटी चोक नजिकै रोकिरहेको ना २ ख ८४८७ नम्बरको ट्रक र ना २ ख २५४८ नम्बरको पश्चिमबाट पूर्वतर्फजाँदै गरेको पराल बोकेको ट्रकमा साउन २९ गते अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी रमेश थापाले बिहान १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जानकारी दिए ।
थापाका अनुसार आगजनीको सूचना प्राप्त गरेपछि प्रहरीले चितवनको भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाएको थियो । ट्रकमा आगजनी गर्ने व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।