INSEC Online

📅 २०८३ जेष्ठ २१

दमौली अस्पतालमा निःशुल्क पाइने औषधिको अभाव

तनहुँको दमौली अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पतालमा नागरिकले निःशुल्क रूपमा पाउने औषधि नहुँदा सेवाग्राहीले शुल्क तिरेर औषधि खरिद गर्नु पर्ने बाध्यता छ ।

दमौली अस्पतालकी निमित्त प्रमुख डक्टर सिर्जना शर्माले अस्पतालबाट निःशुल्क वितरण गरिने औषधि सकिएको बताइन् । शुल्क तिरेर पाउने औषधि पर्याप्त भएपनि निःशुल्क औषधि नहुँदा सर्वसाधारण सेवाग्राही प्रभावित हुने गरेको बताइन् । शुल्क तिरेर दिइने औषधि अस्पतालले केही अघि टेण्डर गरेर ल्याइएको तर सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नआएको हुँदा सर्वसाधारणलाई ति औषधि दिन नसकिएको शर्माको भनाई छ ।

अस्पतालका प्रशासन शाखाका नायब सुब्बा विजय सुवेदीले दमौली अस्पताललाई व्यास नगरपालिकाले निःशुल्क विरतण गरिने औषधि खरिदको लागि रकम दिनु पर्नेमा सो रकम यो आर्थिक वर्षमा हालसम्म प्राप्त नभएको बताए । अघिल्लो आर्थिक वर्षदेखि नै औषधिको अभाव भएको उनको भनाई छ ।

दमौली अस्पतालमा हाल दैनिक १ सय ५० भन्दा बढी विभिन्न रोगका बिरामीहरू स्वास्थ्य परीक्षणको लागि आउँछन् ।

निःशुल्क पाउने औषधि खरिद गर्नुपर्ने भएपछि स्वास्थ्य बिमाप्रति नागरिकको विश्वास समेत हराउन थालेको सुवेदीले बताए ।

व्यास नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकारी कुमारकञ्चन जिसीले प्रक्रिया पुर्‍याएर दमौली अस्पतालाई औषधि खरिदको लागि रकम उपलब्ध गराइने बताए । उनले औषधि अभाव भएको बारेमा नगरपालिकामा जानकारी नै नभएको पनि बताए ।

यसैबिच प्रतिनिधि सभाका सांसद केदार सिग्दलले अस्पतालमा औषधिको अभाव र जनशक्तिको अभाव भएको जनगुनासो आएपछि साउन २७ गते यसबारेमा जानकारी लिन अस्पतालको निरीक्षण गरि छिटो छरितो रूपमा सेवा प्रवाह गर्न र निःशुल्क पाउनुपर्ने औषधिको लागि पहल गर्न अस्पताल प्रशासनलाई अनुरोध गरेको बताए ।

अन्य

भिडियो