घरेलु हिंसा सहन नसकी यशोधरा गाउँपालिका–२ की ३० वर्षीया शकुन्तला यादवले शरीरमा मटितेल खन्याई पाँच वर्षीय छोराको हत्या गरी आफूले आत्महत्या गरेको घटना सार्वजनिक भएको जनाइएको छ ।
पति ३५ वर्षीय रामकिशुन यादवबाट भएको हिंसा सहन नसकेपछि बाध्य भई शकुन्तलाले नाबालक छोरा छोरीलाई शरीरमा बाँधेर आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रवि रावलले जानकारी दिएका छन् ।
घटनामा शकुन्तला र उनका पाँच वर्षीय छोरा आर्यनको मृत्यु भएको छ भने दुई वर्षीया छोरी आर्याको अवस्था उपचारपछि सामान्य रहेको डिएसपी रावलले बताए ।
गुपचुप रहेको यो घटना शकुन्तलाका बुवा भारतको उत्तरप्रदेश सिद्धार्थनगर जिल्लाको मिश्रौलिया ग्राम बस्ने राजकिशोर यादवले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा ३५ वर्षीय ज्वाँई रामकिसुन यादवविरूद्ध हत्याको आरोपमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
यो घटना गत साउन ६ गते राति ११ बजेतिर भएको प्रहरीले जनाएको छ । राजकिशोरले आप्mनी छोरी, नातिलाई आगो लगाएर हत्या गरेको भन्दै ज्वाँई रामकिसुनविरूद्ध उजुरी दिएका हुन् । आगोबाट शकुन्तलाको कम्मरदेखि माथिको भाग जलेको र आर्यनको कम्मर मुनीको भाग जलेको थियो ।
घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा शकुन्तलाको मृत्यु साउन ८ गते र आर्यनको मृत्यु साउन २२ गते पाल्पा मिसन अस्पतालमा भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित रामकिसुनलाई पाल्पाबाट गिरफ्तार गरी अनुसन्धान गरिररहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी मनोजकुमार यादवले घटना आत्महत्या वा हत्या त्यो अनुसन्धानको विषय रहेको बताए । उनले घटनामा रामकिसुनको संलग्नता रहेको बताए । आरोपितको अन्यत्रै सम्बन्ध रहेको र सोही विषयमा पति र पत्नीबीच दिनहुँ झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
घटना लगत्तै रामकिसुनका ६० वर्षीय बावु बाहाउ यादव, ५० वर्षीया आमा पार्वती यादव, ३० वर्षीया भाउजु घिरौनी यादव फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतककी छोरी आर्या भने हाल मावली घरमा रहेकी छिन् ।