INSEC Online

📅 २०८३ जेष्ठ २१

मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा डेण्टल विभागको चौथो वर्षमा अध्ययनरत २४ वर्षीय महादेव शाहको मृत्य भएपछि सहकर्मी विद्यार्थीहरूले उपचारमा लापरवाही भएकाले उनको मृत्यु भएको भन्दै अस्पतालको अतिसम्वेदनशील आइसीयुमा तोडफोड गरेका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले घटनाको रिपोटिङ्मा गएका इमेज टेलिभिजनका सम्वादाता ३० वर्षीय दिपक घिमिरे, एपीवान टेलिभिजनका व्यूरो प्रमुख ३५ वर्षीय राधेश्याम विश्वकर्मा र अन्नपूर्णपोष्टका सम्वाददाता २८ वर्षीय सलमान खानलाई दुर्व्यवहार गरी क्यामरा समेत फुटाइदिएका छन् ।

प्रदर्शनकारीले पत्रकार राधेश्याम विश्वकर्माको क्यामरा ‘क्यानन एक्स ए टेन’ खोसेर काम नलाग्ने गरी फोरेका छन् भने दिपक घिमिरेको ‘क्याननको डिएसएलआर डी सेभेन हनरेट’ क्यामरा र एक्स्ट्रालेन्स १८-२०० मा पनि क्षति पुगेको छ ।

घटना पश्चात दोषीलाई कारबाही सहित क्षतिपूर्तिको माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा साउन २० गते साँझ उजुरी दिएका थिए ।

यसैबीच घटनाको विषयमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीले एक विज्ञप्तिमार्फत घटनाको घोर भत्सर्ना सहित ध्यानाकर्षण गरेको छ । विज्ञप्तिमार्फत निष्पक्ष रूपमा समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि आक्रमण गर्नु भनेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएकोले दोषीलाई कडा कारबाही गरी पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।

छानविन समिति गठन

घटनाको विषयमा अध्ययन गर्नका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गाना, नेपाल प्रहरीका इन्स्पेक्टर उमेश जोशी र युसिएमएस मेडिकल कलेजका एकजना प्रतिनिधि सदस्य रहने छन् । समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ ।

अन्य

भिडियो